काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले विचार नपुर्‍याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरूलाई आग्रह गरे ।

‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’

उनले दोस्रो संविधानसभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गरे । त्यतिबेला शान्ति र संविधानको निम्ति प्रमुख भूमिका खेल्नेमध्ये आफू एक भएको उनले दाबी गरे । आफू जीवितै हुँदा संविधान नबन्ला कि भनेर धेरै चिन्तित भएको उनले सुनाए ।

यस्तै अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पुर्‍याउने भएकाले संशोधन गर्नुपर्ने बताएका छन् ।

‘जोसँग पैसा छैन उसले चुनाव लड्नै नसक्ने स्थिति जुन बनेको छ । करोडौँ खर्च गरेर राजनीतिक स्थायित्वतर्फ लैजान्छ त ? निर्वाचन जितेपछि मन्त्री हुने टार्गेट हुन्छ । त्यसपछि चुनावमा लिएको ऋण तथा खर्च उठाउने नै प्रमुख उद्देश्य हुन्छ । त्यसैले संविधान संशोधन गर्दा यस्ता विषयमा ध्यान दिनुपर्छ’, उनले भने ।

यसैगरी अहिलेको संविधानले बहुदलीय प्रतिस्पर्धालाई अङ्गीकार गरेकाले नेपालको सन्दर्भमा दुई दलीय प्रणाली ठिक नभएको स्पष्ट पारे । साथै संविधानमा राखिएको धर्मनिरपेक्षतालाई हटाउन खोजिए ठुलो समस्या आउनेतर्फ उनले सचेत गराए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0