७ असोज, काठमाडौं । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल र सिप्ला सेक्युरिटिजबीच हिसाब लेनदेनमा विवाद देखिएको छ ।

सिप्ला सेक्युरिटिजले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा अग्रवालबाट रकम असुलीका लागि सहयोग गरिदिन भन्दै निवेदन दिएको छ । अग्रवालले १६ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै सिप्लाले केही दिनअघि उजुरी दर्ता गराएको हो ।

अग्रवालले हिसाव फरफारक गर्न १ करोडका दरले दिएको १६ वटा चेक आफैले लिएर फरार भएको सिप्लाको भनाइ छ । ‘यस कम्पनीका प्रतिनिधिलाई झुक्याएर आफै टोखास्थित ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धक समक्ष हिसाव मिलान गर्न लगाउँछु भन्दै अग्रवाल चेक लिएर फरार भएको जानकारी गराउँछौं’ सिप्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अग्रवाललाई उपस्थित गराएर रकम भुक्तानी गराउनका लागि उचित कारबाहीका लागि सिप्लाले ब्यरोसँग सहयोग माग गरेको छ ।

उता लगानीकर्ता अग्रवाल भने आफूलाई सिप्लाले नै रकम भुक्तानी गर्न बाँकी रहेको दाबी गरेका छन् । ‘उसले मलाई दिएको चेक नै छ, रकम मैले लिनुपर्नेमा भुक्तानी भएको छैन’ अग्रवालले भने ।

आफूले यस विषयमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जमा पनि कारबाहीका लागि माग गर्दै आवेदन दिएको उनले बताए । आफूले सिप्लाबाट ७ करोड ८८ लाख रुपैयाँ पाउनुपर्ने रकम भुक्तानी नभएको अग्रवालको दाबी छ । ‘ब्रोकरले कानुन बमोजिम समयसीमाभित्र रकम भुक्तानी नगरेकाले मैले पाउनुपर्ने रकममा कानुन बमोजिम ब्याज पाउनुपर्छ’ उनले जारी गरेको एक विज्ञप्तिमा भनिइएको छ ।

सीआईबीमा ब्रोकर कम्पनीले नै झुटो निवेदन दिएको अग्रवालको आरोप छ । ‘सिप्ला आफैले दिएको लेजरबमोजिम भुक्तानी हुन बाँकी रकम भुक्तानी नगर्ने र कारबाही गर्न सरकारी निकाय पनि गम्भीर नहुने हो भने लाखौं लगानीकर्तालाई सेयर बजारप्रति विश्वास गुम्ने खतरा हुन्छ’ अग्रवालले भने ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0