८ असोज, काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ ।

अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।

बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल जारी छ ।

सरकारको निर्णय आएसँगै अन्य गन्तव्यका लागि पनि बससेवाबाट बुकिङ खुल्ने कम्पनीले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले आइतबार मन्त्रालयमा टिकट बुकिङका सम्बन्धमा छलफल भए पनि निष्कर्षमा नपुगेका कारण यातायात व्यवस्था विभागसँगको बैठकले गर्ने निर्णयअनुसार बुकिङ सुरु हुने बताए ।

विगतमा समेत दशैंमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको दाबी गरेको छ ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ ।

प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको खनालले बताए । यो वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’

बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ ।

बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जान सो लाउन्जबाट सेवा लिन सक्छन् ।

बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0