काठमाडौँ । ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडाँैमा आयोजित एक कार्यक्रममा भनिन्, ‘म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रममा नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् ।’

उनले नेकपा एमालेलाई अनुरोध गर्दै थप भनिन्, ‘मैले भन्न खाजेको के हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाटै राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।’

झट्ट सुन्दा यो अभिव्यक्ति कुनै नौलो र ठुलो कुरा होइन । तर व्यक्ति विशेषका हकमा भने यस्तो अभिव्यक्ति अलि नसुहाउँदो सुनिन्छ । भण्डारीको यो अभिव्यक्तिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने उनलाई देशको भन्दा पनि नेकपा एमालेको बढी चिन्ता रहेको देखिन्छ ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको पनि बताइन् । उनको यो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली वा अरु सक्रिय राजनीतिमा रहेका कुनै नेताको भन्दा फरक छैन ।

त्यतिमात्रै होइन, भण्डारीले सोही कार्यक्रममा जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको भन्दै जबजको सिद्धान्तलाई मान्नेहरूले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।

यसबाट भण्डारीको राजनीतिप्रतिको चाहना कति छ भन्ने पनि प्रस्टै हुन्छ । राष्ट्रपति देशको अभिभावक हो । यस्तो पदमा रहिसकेको व्यक्तिको सामाजिक गतिविधि साझा र सबैले मान्ने खालको हुनुपर्छ भन्ने आम बुझाइ छ । त्यस्तो पदमा बसिसकेर बाहिरिएको व्यक्तिले कुनै एक पार्टी विशेषको चिन्ता गर्न नसुहाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

कार्यकर्ताकै हैसियत देखाउनुभयो : विजयकान्त कर्ण

पूर्वराजदूत विजयकान्त कर्णले पनि पूर्वराष्ट्रपति भण्डारीले त्यसरी कुनै एक पार्टीको चिन्ता गर्नु शोभनीय नभएको बताए ।

‘कुन मानिस कुन पदका लागि उपयुक्त हुन्छ भन्ने कुरामा पनि यो भर गर्छ । पहिलो त विद्यादेवी भण्डारी राष्ट्रपतिका लागि उपयुक्त पात्र नै हुनुहुन्थेन । उहाँमा त्यस्तो कुनै क्षमता थिएन’, कर्णले भने, ‘किनभने राष्ट्रपति पदमा रहँदा पनि उहाँले पार्टी नै छाड्नुभएन । राष्ट्रपति हुँदा पनि उहाँले कार्यकर्ताकै हैसियत देखाउनुभएकाले अहिले एमालेको चिन्ता गर्नु अस्वाभाविक होइन ।’

त्यसो त कर्णले भण्डारी राष्ट्रपति भएकै बेलामा पनि विवादरहित बन्न नसकेको बताए । कर्णले त्यसबेलाको घटना स्मरण गर्दै भने, ‘त्यसबेला पनि उहाँ पार्टीको झगडा मिलाउने, नेताहरू भेट्ने, आफ्ना मानिसलाई मन्त्री बनाउने काम गर्नुहुन्थ्यो ।’

राष्ट्रपति हुँदा भण्डारीले एमालेको पार्टी सदस्यबाट राजीनामा दिएँ भनेर ढाँटेको समेत कर्णको आरोप छ । ‘अहिले केही महिनाअघि मात्र उहाँको एमालेमा पार्टी सदस्यता नवीकरण भयो । रिजाइन गरेको त रिन्यु हुँदैन । कसरी भयो त ?’, कर्णको प्रश्न छ । यी विभिन्न कारणले भण्डारीमा अझै पनि राजनीति गर्ने चाहना रहेको बुझ्न सकिने कर्णको भनाइ छ ।

‘राष्ट्रपति हुँदा पनि उहाँले विदेश नीतिमा हस्तक्षेप गर्नुभयो । त्यसबेला प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले हुँदैन भन्दाभन्दै चीनमा भएको ग्लोबल सुरक्षासम्बन्धी कार्यक्रममा उहाँले भाग लिनुभयो’, कर्णले भने ।

त्यस्तै भण्डारीले दुई–दुई पटक संसद विघटन गरेर असंवैधानिक काम गरेको कर्णले बताए । ‘संवैधानिक रूपमा भन्ने हो भने त उहाँमाथि त्यसबेला महाअभियोग लाग्नुपर्ने थियो । संविधानले अधिकार नै नदिएको काम उहाँले गर्नुभएको छ’, उनले भने । अरु पार्टीले बहुमत सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीका लागि शीतलनिवास जाँदा ६ घण्टासम्म भेट नदिएर ओलीलाई नै तत्कालीन राष्ट्रपति भण्डारीले प्रधानमन्त्री बनाएको उनको आरोप छ ।

‘जब राष्ट्रपतिको कार्यकाल सकियो, उहाँ राजनीतिमा लाग्छु भन्न थाल्नुभयो । कानुनी रूपमा उहाँलाई राजनीति गर्न कुनै अप्ठ्यारो नहोला तर त्यस्तो महत्त्वपूर्ण पदमा बसिसकेको मानिसमा नैतिक जिम्मेवारीको कुरा पनि हुन्छ’, पूर्वराजदूत कर्णले भने ।

उनले देशको साझा भइसकेको व्यक्ति त्यसमाथि पनि पूर्वराष्ट्रपतिले पाउने सुविधा सरकारबाट लिइरहेको अवस्थामा कुनै पार्टीको पक्षमा बोल्ने वा पक्षपोषण गर्नु उचित नभएको बताए । पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वतन्त्र नै बसिरहेको उदाहरण दिँदै कर्णले भण्डारीलाई राजनीति गर्ने मन भए पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सवै सुविधा त्याग्नुपर्ने प्रस्ट पारे ।

‘विद्या भण्डारीलाई राजनीति नै गर्न मन भए राज्यले दिएका सवै सुविधा छाडेर लाग्दा हुन्छ । यसरी डबल स्टाण्डको भूमिका खेल्नु राम्रो होइन’, कर्णले भने ।

पद अनुसारको कद होइन : विश्लेषक श्रेष्ठ

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पूर्वराष्ट्रपति भनेको देशकै साझा र सबैले मान्ने व्यक्ति हुने भएकाले त्यसरी कुनै एक पार्टी विशेषको चिन्ता र पक्षपोषण गर्न उचित नहुने बताउँछन् ।

‘राष्ट्रपति हुनका लागि पार्टीका सबै पद त्याग गरेको हुन्छ । व्यक्ति स्वतन्त्र भइसकेपछि मात्र राष्ट्रपति हुन पाउँछ’, विश्लेषक श्रेष्ठले भने, ‘राष्ट्रपति पद छाडिसकेपछि समेत आस्था जहाँसुकै भए पनि त्यो मर्म र मान्यता पालना गर्न सक्नुपर्छ ।’

श्रेष्ठले मानिसको आस्था र भोट खसाल्ने अधिकारमा स्वतन्त्रता हुने भए पनि सबैले मानेकाले पद अनुसारको कद जोगाउन सक्नुपर्ने बताए ।

‘कुनै एउटा पार्टीको चिन्ता लिएर हिँड्नु पूर्वराष्ट्रपति भण्डारीको कद होइन । उहाँ हिँड्नुभयो । त्यो पद अनुसारको कद भएन’, श्रेष्ठले भने, ‘यदि उहाँले चिन्ता नै गर्नुपर्ने भए देशको चिन्ता गर्नुपर्दथ्यो ।’

देशमा यावत् समस्या रहेको भन्दै श्रेष्ठले बरु ती समस्या समाधानका लागि पूर्वराष्ट्रपतिले सल्लाह र सुझाव दिनसक्नुपर्ने बताए । ‘अमेरिकाजस्तो भए कुनै पार्टी विशेषको चिन्ता वा पक्ष लिँदा केही फरक पर्दैन’, उनले रातोपाटीसँग भने, ‘तर नेपालमा अमेरिकाको जस्तो प्रबन्ध छैन । उहाँ त स्वतन्त्र नै बस्नु राम्रो हुन्छ । किनभने देशलाई केही त्यस्ता मानिस चाहिन्छन्, जो सबैले मान्ने र सबैका साझा हुन्छन् । जसले देशलाई सङ्कट पर्दा पनि उचित पहलकदमी लिन सकोस् ।’

के–के छन् पूर्वराष्ट्रपतिका सुविधा ?

२०७९ मा भएको निर्वाचनपछि सोही सालको फागुन २९ गते भण्डारीको कार्यकाल सकिएको हो । हाल उनी बुढानीलकण्ठस्थित भंगालमा बस्दै आएकी छन् । यतिसम्म कि, भण्डारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने घरको भाडासमेत सरकारले तिर्ने गरेको छ । जसको मासिक भाडा एक लाख रुपैयाँ रहेको बताइन्छ ।

त्यसबाहेक भण्डारी र उनका सचिवालयका कर्मचारीको खातामा मासिक रूपमा भत्ता तथा तलब जाने गरेको छ ।

भण्डारीले पनि मासिक ५० हजार भत्ता पाउँछिन् । सरकारी सुविधाको गाडी नलिए पनि मासिक दुई सय सात लिटर इन्धन, उपसचिवस्तरका एक स्वकीय सचिव, एक कार्यालय सहयोगी र एक चालकको सुविधा उपलब्ध गराएको छ । त्यसबाहेक पत्रपत्रिका खर्च मासिक तीन हजार र टेलिफोन खर्च मासिक एक हजार सुविधा पनि भण्डारीले लिने गरेकी छन् । भण्डारीको सुरक्षामा २० सुरक्षाकर्मी खटिएका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0