२३ कात्तिक, काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गरेको छ ।

गृह मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)लाई सुरक्षा तयारी थाल्न निर्देशन दिएसँगै सम्बन्धित सुरक्षा निकायहरुले तयारी थालेका हुन् ।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको कमाण्डमा समिति गठन गरिएको हो ।

उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने डीआईजी कार्कीले बताए । ‘सम्बन्धित निकायहरु समन्वय गर्ने, सुरक्षा तयारी गर्ने, निर्वाचनका लागि चाहिने बन्दोबस्तीको सामानहरुको व्यवस्था गर्नेलगायत सबै काम केन्द्रीय निर्वाचन सुरक्षा समितिबाटै हुन्छ’ प्रवक्ता कार्कीले भने ।

समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरुको अध्ययन गरेर काम गर्नेछ ।

त्यसका लागि उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरुसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।

जिल्लाले दिएको रिपोर्टका आधारमा सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने तयारी केन्द्रीय सुरक्षा समितिको छ । उपनिर्वाचन हुने ठाउँ तथा जिल्लाका सुरक्षाकर्मीले नपुगेको अवस्थामा अन्य जिल्लाका सुरक्षाकर्मीहरु मागेर परिचालन गर्नेसम्मको अधिकार केन्द्रीय निर्वाचन सुरक्षा समितिलाई दिइएको छ ।

सशस्त्र प्रहरी बलले पनि गृहको निर्देशनपछि उपनिर्वाचन सुरक्षाको तयारी थालेको छ । सशस्त्रको कार्य विभागका एसएसपी दिग्विजय सुवेदीको कमाण्डमा सशस्त्र प्रहरीले केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरेर काम सुरु गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जिल्लादेखि केन्द्रसम्म निर्वाचन सुरक्षा सेल समेत गठन गरेर काम सुरु गरिएको बताए ।

त्यसैगरी उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रको बाहिनीमा एसपीको कमाण्डमा, गणमा डीएसपीको कमाण्डमा र गुल्ममा इन्सपेक्टरको कमाण्डमा सुरक्षा सेल गठन गरेर काम सुरु गरिएको थापाले बताए ।

‘अहिले सम्बन्धित जिल्ला सशस्त्र प्रहरी अधिकारीहरुसँग विवरण माग गरेर अध्ययन गर्ने काम भइरहेको छ । त्यसपछि कहाँ कस्तो सुरक्षा रणनीति अपनाउने भनेर कार्य योजना बनाएर लागु गरिने छ,’ थापाले भने । यता गुप्तचर विभागले पनि सूचना संकलनको काम थालेको छ ।

कहा–कहाँ हुँदैछ उपनिर्वाचन ?

विविध कारणले रिक्त स्थानीय तहका पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो ।

जसमध्ये जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ वटा पद रिक्त छ ।

निर्वाचन आयोगले ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि चुनाव गर्न लागेको हो ।

त्यसैगरी २८ जिल्लाका ३४ वडाध्यक्ष पदका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ । जसमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–१ र ४ काठमाडौं महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष पदमा निर्वान हुँदैछ ।

दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोट कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0