३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दै छ। खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।
नेपालले टी-२० फर्म्याटमा स्कटल्याण्डसँग १२ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो भने टी-२०आईमा यो पहिलो भेट हुनेछ। सन् २०१३ को टी-२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो।
स्कटल्याण्डको त्यसबेलाको टोलीबाट माइकल लिस्क र सफिया शरिफ अहिले पनि टोलीमा छन्। तर, रिची बेरिङटन जुन लिग २ शृंखलामा एकदिवसीय खेलेका थिए, अहिलेको टी-२० टोलीमा छैनन्।
नेपालले टी-२०आई मान्यता पाएपछि स्कटल्याण्डसँग यो पहिलो खेल हो।
शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। उक्त खेलमा किरण ठगुन्ना र रुपेश सिंहले क्रमशः ५०औं र ५१औं खेलाडीका रूपमा टी-२०आई डेब्यू गरेका छन्।
स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो।
















