पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घमा पहिलो महिला अध्यक्ष बन्ने लक्ष्य सहित जानुका पराजुली अधिकारी नेतृत्वमा प्यानल घोषणा भएको छ ।
आगामी भदौ २० र २१ गते हुने १५ औँ अधिवेशनमा नेतृत्वका लागि अधिकारीले आफ्नो प्यानल घोषणा गरेकी हुन् ।
अहिलेकी महासचिव रहेकी अधिकारीले ‘इमानदारिता, पारदर्शिता र लगनशीलता’ भन्ने नारा सहित यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । उनको प्यानलबाट ७ पदाधिकारी र सबै सदस्यहरूको घोषणा गरिसकिएको छ ।
वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य र द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराईले उम्मेदवारी दिने भएका छन् ।
यस्तै महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेदवारी दिन लागेका छन् ।
उनको प्यानलबाट खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकीको नाम टुङ्गिएको छ ।
एसोसियट सदस्य दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल तथा २ महिला सदस्य शर्मिला श्रेष्ठ र गंगा परियार प्यानलमा छन् ।
अध्यक्षकी दाबेदार अधिकारीले आफ्नो उम्मेदवारी समग्र व्यवसायीको हकहित, संरक्षण र व्यवसाय प्रवर्द्धनका लागि भएको दाबी गरेकी छन् ।
उद्योगी व्यवसायीका समस्या नीतिगत तहमा पुर्याउने, लेखनाथलाई पर्यटकीय गन्तव्य बनाउने, पुँडीटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने र कृषि उत्पादनको ब्राण्डिङसँगै बजारीकरणमा जोड दिने उनले प्रतिबद्धता जनाएकी छन् । सङ्घमा कुल २ हजार १९ मतदाता रहेका छन् ।















