काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विमान दुर्घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । गम्भीर रूपमा मन्त्रालय अध्ययनमा लागेको र चाँडै कारबाही लगायतका निर्णय लिइने उनले संसदीय समितिलाई जानकारी दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा सांसदहरूले विमान र हेलिकप्टर दुर्घनाबारे सोधेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले कानुन र संवैधानिक रूपमा परिपक्व निर्णय लिन लागिएको बताएका हुन् ।

‘मातहतका निकायलाई कारबाही गर्ने सम्बन्धमा घोत्लिएका छौं । खासगरी सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि हामी घोत्लिएका छौं,’ मन्त्री पाण्डेले भने, ‘म के चाहन्न भने मन्त्रीको पहलकदमीमा कुनै निर्णय होस् र अर्को कुनै बाटोबाट पुनर्स्थापति होस् र मन्त्री त्यहीँ बसिरहोस्, मेरो निर्णयमा चुनौती जुनसुकै निकायबाट आओस् त्यो निकायबाट चुनौती आइसकेपछि अथवा बदर भइसकेपछि त्यो मन्त्रीले त्यही बसिरहने नैतिक अधिकार हुन्न । मन्त्रीले गरेको निर्णय संवैधानिक कानुनी हिसाबले सम्परीक्षण भएको हुनुपर्छ । सर्वस्वीकृत हुनुपर्छ । होइन भने मन्त्रीले त्यहाँ बस्ने नैतिक अधिकार राख्दैन त्यहीअनुसार छलफल गरिरहेका छौं । चाडै सभापतिमार्फत यो समितिले पनि थाहा पाउनेछ र मुलुकले थाहा पाउनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

समितिमा सांसदहरूले जिम्मेवार अधिकारीहरूलाई निलम्बन गरेर मात्रै छानबिनको माग गरेका थिए । नैतिकताका आधारमा पनि पदमा राख्न नहुने उनीहरूको भनाइ थियो । यस विषयमा मन्त्री पाण्डेले भने, ‘केही विषयहरू निलम्बन लगायतका विषयहरू आएका छन् । नैतिकताको प्रश्न व्यक्तिमा निहित हुन्छ अरु कसैले लाद्ने विषय होइन । मेरो नैतिकताको प्रश्न मैमाथि निहित हुन्छ । अरु कसैको नैतिकताको प्रश्न उसैमा निहीत हुन्छ । लादेर नैतिकता लादिँदैन । कानुनी प्रक्रियासम्मत बाटोबाट जानका लागि अप्ठ्यारा र जटिलता के हुन् खोतलिरहेका छौं ।’

आफूमाथि नैतिकताको प्रश्न उठेमा एक क्षण पनि मन्त्री पदमा नबस्ने पाण्डेको भनाइ थियो ।

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा तमाम विकृति रहेको बताउँदै मन्त्री पाण्डेले तिनको समाधानमा आफू लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0