काठमाडौँ — कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी संविधानको पक्षमा राजनीतिक गतिविधि सुरु गरेका छन् । उनीहरूले संघदेखि स्थानीय तहसम्म असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेका छन् ।
उनीहरूले प्रतिनिधिसभा विघटन भएपछि संविधान कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै संविधानको पक्षमा उभिने निर्णय गरेका हुन् ।
२०७२ असोज ३ मा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । जेन-जी आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि दलहरू संविधान बचाएर मात्र अघि जान सकिने निष्कर्षमा पुगेका छन् ।
कांग्रेसले संविधान दिवस मनाउन संगठनहरूलाई निर्देशन दिएको छ । उपसभापति पूर्णबहादुर खड्काले बुधबार केन्द्रीय कार्यालको निरीक्षणका क्रममा देशव्यापी रूपमा शान्त तरिकाले संविधान दिवस मनाउने बताए । कांग्रेसले संविधान दिवसका अवसरमा छलफल, बहस गर्न लागेको हो ।
एमालेले पनि तल्ला कमिटीहरूमा आन्तरिक सर्कुलर पठाउँदै संविधाधन दिवस मनाउन निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलले संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएकाले सबै संगठनलाई यसमा केन्द्रित हुन निर्देशन दिएका छन् । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौं र बनाऔं,’ उनले भनेका छन्, ‘लोकतान्त्रिक शक्तिहरूसागको सम्बन्ध र सहकार्यमा जोड दिऔं ।’
















