विज्ञापन

ट्रम्पको व्यापार युद्धमा दुर्लभ खनिज किन खास बनेका छन् ? के हो यो ?

विज्ञापन
Image
विज्ञापन

२० असोज, काठमाडौं । चीनसँगको अमेरिकाको व्यापार युद्धको एउटा प्रमुख विवादास्पद मुद्दा हो – ‘रेयर अर्थ मिनरल्स’ अर्थात् दुर्लभ धातुहरू ।

गत महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ग्रीनल्यान्ड ‘अत्यन्तै जरुरी’ रहेको बताए ।

उनले डेनमार्कको यो भूभागलाई आफ्नो नियन्त्रणमा ल्याउने धम्की फेरि दोहोर्‍याए ।

ग्रीनल्यान्ड एउटा स्रोतसम्पन्न टापु हो, जसको बरफमुनि अत्यावश्यक खनिजहरूको ठूलो भण्डार रहेको छ । यसमा दुर्लभ खनिजहरू पनि पर्छन् ।

ट्रम्पले युक्रेनसँग पनि ‘दुर्लभ खनिज सम्झौता’ गरेका छन् । विश्लेषकहरूले युक्रेन युद्धलाई दुर्लभ धातुमाथि कब्जा जमाउन रूस र अमेरिकाबीच भएको प्रतिस्पर्धाका रूपमा उल्लेख गर्नेगर्दछन् ।

युक्रेनमा खासगरी लिथियम, युरेनियम, ग्रेफाइट, टाटटेनियम, बेरेलियम लगायतका दुर्लभ खनिज तत्वहरू रहेका छन् ।

त्यसो त, दुर्लभ खनिज विवाद ट्रम्प आएपछि मात्र शुरु भएको होइन । यसअघि पनि अमेरिकी प्रशासन यस्ता विवादसँग जोडिँदै आएको छ । चीनले विगतमा पनि यी सामग्रीहरूमा लगभग पूर्ण नियन्त्रण कायम गरेको छ, जुन यसको औद्योगिक नीतिको महत्वपूर्ण पक्ष हो ।

दुर्लभ धातु के हुन् ? के यी साँच्चिकै दुर्लभ हुन्छन् ?

दुर्लभ खनिजहरू १७ वटा धातु तत्वहरूको समूह हुन् । परमाणु तालिका अनुसार यी १७ तत्वहरू स्क्यान्डियम, यट्रियम, ल्यान्थनम, सेरियम, प्रासियोडाइमियम, नियोडाइमियम, प्रोमेथियम, स्यामेरियम, युरोपियम, ग्याडोलिनियम, टर्बियम, डिस्प्रोसियम, होल्मियम, अर्बियम, थुलियम, यिटर्बियम र ल्युटेटियम हुन् ।

‘रेयर अर्थ’ भन्ने नाम केही भ्रमपूर्ण छ, किनकि यी पदार्थहरू पृथ्वीको सतहमा धेरै ठाउँमा पाइन्छन् । केही धातु त सिसाभन्दा बढी पनि पाइन्छन् । यिनीहरू सुनभन्दा पनि बढी पाइन्छन्, तर तिनीहरू निकाल्न र प्रशोधन गर्न कठिन, महँगो र वातावरणीय रूपमा हानिकारक हुन्छ ।

यी पृथ्वीको सतहमा थोरै मात्रामा, धेरैतिर फैलिएका र अन्य खनिजहरूसँग मिसिएका हुन्छन्। त्यसैले ठूला भण्डार भेट्टाउन र निकाल्न कठिन र महँगो पर्छ ।

कहाँ प्रयोग हुन्छन् यिनीहरू ?

दुर्लभ खनिजहरू हाम्रो दैनिक जीवनका अत्यावश्यक प्रविधिहरूमा प्रयोग हुन्छन्– मोबाइल फोन, वायु टर्बाइन, लेड बत्ती र फ्ल्याट–स्क्रिन टिभीसम्म । यिनीहरू विद्युतीय सवारी साधनका ब्याट्री, विमानका इन्जिन, तेल परिस्कार गर्ने उपकरण, मिसाइल, रडार प्रणाली जस्ता अन्य सैन्य काम, एमआरआई स्क्यानर र क्यान्सर उपचारका लागि पनि महत्वपूर्ण हुन्छन् ।

रेयर अर्थहरू अमेरिकी सेनाका लागि पनि अत्यावश्यक हुन्छ । सीएसआईएस – २०२५ को रिपोर्टअनुसार, एफ–३५ फाइटर जेट्स, पनडुब्बी, लेजर, साटेलाइट, टोमहक मिसाइल लगायतका हतियार प्रणालीहरूमा यी धातुहरूको प्रयोग हुन्छ ।

लन्थानम र सेरियम सबैभन्दा सबैभन्दा सामान्य रेयर अर्थ मेटल्स हुन् । लन्थानम क्यामेरा लेन्स र बत्तीहरूमा प्रयोग हुन्छ भने सेरियम क्याटालाइटिक कन्भर्टरमा प्रयोग हुन्छ जसले इन्धन इन्जिनको धुँवा कम गर्न मद्दत गर्छ । त्यस्तै, स्थायी म्याग्नेट बनाउन प्रयोग हुने नियोडाइमियम र प्रासियोडाइमियमको माग बढ्दैछ ।

दुर्लभ खनिज कहाँबाट आउँछन् ?

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार विश्वका ६१ प्रतिशत रेयर अर्थ खानी चीनमा छन्, र प्रशोधन चरणमा चीनको नियन्त्रण ९२ प्रतिशत छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले सन् २०२४ मा गरेको एक सर्वेक्षणको नतिजा अनुसार, विश्वभरि दुर्लभ खनिजको अनुमानित भण्डार लगभग ११० मिलियन टन रहेको छ ।

यसको चीन संसारकै सबैभन्दा ठूलो उत्पादक हो, जहाँ ४४ मिलियन टन भण्डार छ । त्यस्तै, ब्राजिल मा २२ मिलियन टन भण्डार रहेको छ ।

भियतनाम मा २१ मिलियन टन भण्डार छ भने रूसमा लगभग १० मिलियन टन भण्डार रहेको छ ।

छिमेकी भारतमा पनि करिब ७ मिलियन टन दुर्लभ खनिजको भण्डार रहेको अनुमान गरिएको छ ।

रोयटर्सका अनुसार, चीन विश्वकै झन्डै ६० प्रतिशत खानी उत्पादन र ९० प्रतिशत प्रशोधन तथा स्थायी म्याग्नेट उत्पादनको स्रोत हो । बेइजिङले उत्पादन, पगाल्ने, र पृथकीकरणमा कोटा तोक्छ, यसले विश्व आपूर्तिको सूचकको रूपमा निगरानी गरिन्छ ।

यी दुई प्रकारका हुन्छन्– हल्का र गह्रुंगो दुर्लभ खनिज । गह्रुंगो दुर्लभ खनिज हरू अझ दुर्लभ हुन्छन् र अमेरिका अहिले पनि तिनीहरूलाई छुट्याउने प्रविधि पर्याप्त रूपमा विकास गर्न सकेको छैन ।

‘यो वर्षको सुरुवातसम्म पनि, क्यालिफोर्नियामा उत्खनन गरिएका गह्रुंगा दुर्लभ खनिजहरू हामी चीनमै पठाउँथ्यौं छुट्याउनका लागि,’ सीएसआईएसकी क्रिटिकल मिनरल्स सेक्युरिटी प्रोग्राम निर्देशक ग्रेसेलिन बास्करन सीएनएनसँग भनेकी छन् ।

तर अप्रिलमा ट्रम्प प्रशासनले चीनमाथि उच्च दरका भन्सार शुल्क घोषणा गरेपछि यो प्रक्रिया अवरुद्ध भयो । ‘चीनले अमेरिकाको दुर्लभ खनिजमा निर्भरतालाई ‘हतियार’ बनाउने इच्छा देखाएको छ,’ बास्करनले भनिन् ।

बास्करनका अनुसार अमेरिका हाल क्यालिफोर्नियामा एक मात्र सञ्चालनमा रहेको रेयर अर्थ खानी रहेको छ।

व्यापार युद्धमा रेयर अर्थ किन महत्वपूर्ण छन् ?

ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्ने धेरै सन्देशहरूले यसमा अमेरिकाको चीनमाथि निर्भरता खुलस्त पार्छन् । जब ट्रम्पले भन्सार शुल्क बढाउँछन्, चीनले यही दुर्लभ खनिजको हतियार अगाडि सार्छ ।

यूएस जियोलोजिकल सर्वेको प्रतिवेदन अनुसार, सन् २०२० देखि २०२३ बीच अमेरिका आयात गर्ने रेयर अर्थ यौगिक र धातुमध्ये ७० प्रतिशत चीनबाट आएका थिए ।

चीन बाहेक, दुर्लभ खनिजबारे अमेरिकाको वैदेशिक नीति रणनीतिक रूपमा युक्रेन, ग्रीनल्यान्ड र साउदी अरबसँग पनि जोडिएको विषय हो ।

‘युक्रेनको खानी उद्योग अझै धेरै प्रारम्भिक अवस्थामा छ,’ बास्करनले भनिन्, ‘यद्यपि यो वार्ताको हिस्सा बनेको छ, आर्थिक रूपमा लाभदायक कुन क्षेत्र हो भन्ने स्पष्ट नक्साङ्कन अझ भएको छैन ।’

वातावरणमा कस्तो असर पर्छ ?

दुर्लभ धातु प्रशोधनमा प्राय: विभिन्न रासायनिक घोलक प्रयोग गरिन्छ, जसले माटो, पानी र हावामा विषाक्त फोहर फैलाउँछ । पर्यावरणमैत्री प्रविधिहरू विकास हुँदैछन्, तर अझै व्यापक रूपमा प्रयोगमा आएका छैनन् ।

त्यसैगरी, केही दुर्लभ धातुमा रेडियोधर्मी थोरियम वा युरेनियम पनि पाइन्छ, जसलाई अम्ल प्रयोग गरी हटाइन्छ । त्यसैले यसले वातावरणमा निकै असर पारिरहेको हुन्छ ।

(सीएनएन, रोयटर्स लगायतको सहयोगमा)

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन