१९ असार, काठमाडौं । निरन्तर वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी र अत्यधिक धमिलो पानी प्रवेश गरेपछि काठमाडौं उपत्यकामा मेलम्चीबाट हुने खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानी अत्यधिक धमिलो भएकाले प्रशोधन प्रक्रिया प्रभावित भएको छ। त्यसैले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रवाह हालका लागि रोकिएको उनले जानकारी दिए।
‘वर्षाका कारण मुहानको पानी अत्यधिक धमिलो भएको छ। पानीको गुणस्तर सुधार भएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार खानेपानी आपूर्ति सुरु गरिनेछ,’ प्रवक्ता चन्दले भने।
केयुकेएलका अनुसार मौसममा सुधार भई मुहानको पानी सफा भएपछि मात्रै प्रशोधन प्रक्रिया पुनः सञ्चालन गर्न सकिनेछ। त्यसैले निरन्तर वर्षा जारी रहे काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति पुनः सुचारु हुन केही समय लाग्न सक्ने जनाएको छ।















