५-६ वर्षका बच्चाहरू देख्दा निकै सुन्दर हुन्छन् । उनीहरू जब हाँस्छन्, त्यो बेला झन् प्यारा देखिन्छन् । तर कोही कोही बच्चाहरू मुस्कुराउनेबित्तिकै उनीहरूका काला दाँतले त्यो सुन्दरता खोसिरहेको हुन्छ ।
बच्चाहरूको दाँत धेरै कालो भएको, केही भाग खिइएको, प्वाल परेको हामीले धेरै देखिरहेका हुन्छौँ । यस्तो अवस्थामा बच्चाको दाँतको हेरचाह किन नगरेको भनेर तिनका आमाबुबा तथा अभिभावकलाई सोधियो भने उनीहरूले यसमा खासै चिन्ता व्यक्त गर्दैनन् । साटिने दाँतको हो, यो झरेर अर्को आउँछ त्यसपछि सबै ठीक भइहाल्छ नि ! धेरैले भन्ने र सोच्ने कुरा हो यो ।
तर यस्तो सोचेर सानै बेलादेखि बच्चाको दाँतको हेरचाह नगरिदिनु ठूलो भूल हो ।
यसरी दाँत खराब हुँदा त्यसको संक्रमण बढ्दै गएर भित्रका अरू नसाटिने दाँत पनि बिग्रिन सक्छन् । झरेको दाँतको जरा पनि सडेको छ भने यसले नयाँ दाँतको जरालाई पनि क्षति पुर्याउन सक्छ ।
सडेका दाँतमा हुने प्वालले जरालाई क्षति पुर्याउँछ र यसो हुँदा त्यो दाँत झरेपछि स्थायी दाँत निस्कन गाह्रो बनाउन सक्छ । नयाँ दाँत आउँदा बाङ्गोटिङ्गो हुने जोखिम हुन्छ ।
दाँत माझ्ने ब्रसमा हुन्छन् करोडौं ब्याक्टेरिया, कसरी रहन सकिन्छ सुरक्षित ?
अर्को भनेको साटिन दाँत भए पनि त्यसमा कीरा लाग्ने, सड्ने हुँदा दुखाइ हुनु सक्छ । यसले बालबालिकाको पढाइ तथा दैनिक गतिविधिमा असर पनि पर्न सक्छ । दुखाइले निद्रा बिग्रिने तथा यसबाट अन्य स्वास्थ्य समस्या पनि देखिन सक्छ ।
आमाबाबुले के गर्ने
यदि बच्चाको अस्थायी दाँतमा कुनै समस्या देखियो दाँत कालो भयो, कीरा लाग्यो भने दन्त चिकित्सकलाई देखाउनुपर्छ ।
एउटा दाँत आएपछि नै सफा गरिदिन सुरु गर्नुपर्छ । गिजा फोहोर हुने भएकाले ६ महिनादेखि नै बच्चाको गिजामा विशेष खालको ब्रशले मालिस गर्नु राम्रो हुन्छ । यसले गिजाको दुखाइ कम गर्न र मौखिक स्वच्छता कायम राख्न सक्छ । दाँत आउने प्रक्रिया पनि सहज रूपमा अगाडि बढ्छ ।
यदि बच्चा १-२ वर्षको छ भने, ब्रश गर्नु आवश्यक छ । नरम ब्रस र बच्चाकै लागि भनेर बनाइएका टुथपेस्टको प्रयोग गरि बच्चाको दाँत सफा गरिदिनुपर्छ । यदि बच्चा २ वर्षभन्दा माथिको छ भने, उसलाई फ्लोराइडयुक्त टूथपेस्ट नै प्रयोग गरेर दाँत माझिदिनुपर्छ ।
राति सुत्नुअघि उसलाई चकलेट, मिठाई तथा गुनियो कुरा खान दिनु हुँदैन । यस्ता खानेकुरा खाएपछि ब्रस गर्न लगाउनुपर्छ ।















