३ असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनका कारण प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका निर्वाह गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरुद्ध गरेका माओवादी केन्द्रले नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि अवरोध हटाएको विषयमा प्रचण्डले पार्टीभित्र आलोचना भए पनि जिम्मेवार ढंगले काम गरेको बताए।
चितवनस्थित निजी निवासमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, “प्रतिपक्षको हिसाबले हामी कमजोर छौं, तर संविधान, ऐन कानुन र प्रणालीका लागि सत्तापक्षको भूमिका खेल्नुपर्छ।” उनले बजेट छलफलका लागि अवरोध हटाउनु परेको पनि स्पष्ट पारे।
प्रचण्डले दुई बुँदे सहमति नगरेको भए पनि हुन्थ्यो भन्नेहरु ‘बचकना’ रहेको टिप्पणी गरे र राजनीतिक परिस्थिति नबुझ्नुलाई यसको कारण भने।
उनले थपे, “संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता सम्बन्धी ऐन र शान्ति प्रक्रियासम्बन्धी बाँकी काम पूरा गर्नुपर्छ। हाम्रो पार्टीले जिम्मेवारी लिएर नै यी काम गर्नुपर्थ्यो।”
यसैकारण अध्ययन र छानबिनलाई गम्भीरतापूर्वक अगाडि बढाउँदै ३० दिनभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धतासँगै संसद अवरोध हटाइएको प्रचण्डले बताए।














