नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफू व्यक्तिगत पद, सुविधा वा अवसर प्राप्तिका लागि नभई राष्ट्रिय जिम्मेवारी र मातृ पार्टीको विकासमा योगदान पुर्याउन पुनः सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेकी छन्।
एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेकाले अब आफूमा कुनै पनि पदीय आकांक्षा बाँकी नरहेको बताइन्। ‘फेरि पार्टी राजनीतिमा फर्किने निर्णय व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई आफूले लामो समय योगदान गरेको मातृ पार्टीसँग जोडिएर यसको विकास र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउने निर्णय लिएको हुँ। म लाभका लागि होइन, राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउन फर्किएको हुँ,‘ उनले भनिन् ।
भेलालाई सम्बोधन गर्ने क्रममा भण्डारीले राष्ट्रपतिको भूमिकामा रहँदा आफूले संवैधानिक दायराभित्र रहेर देशको हितमा काम गरेको र ती कार्यहरू सबैका सामु छर्लङ्ग रहेको उल्लेख गरिन्।
पुनः एमालेमार्फत सक्रिय राजनीतिमा जोडिएपछि कार्यकर्ताहरूको अपेक्षा र विश्वासलाई टुट्न नदिने उनले बताइन् । ‘अब म कुनै पनि पदका लागि निष्क्रिय भएको छु। किनकि, मैले राष्ट्रपतिजस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु,’ उनले भनिन् ।

















