विज्ञापन

कोशीमा हिक्मतलाई हटाउन एमालेभित्रै फेरि चलचेल, असन्तुष्ट सांसदहरूले ओलीलाई भेट्दै

विज्ञापन
Image
विज्ञापन

विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्न नेकपा एमालेभित्रै फेरि चलखेल सुरू भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन एमालेकै असन्तुष्ट प्रदेशसभा सदस्यहरूले दबाब दिन थालेका हुन् ।

मुख्यमन्त्री कार्की एमाले सचिव तथा कोशी प्रदेश संसदीय दलका नेता हुन् भने मेन्याङ्बो दलका उपनेता हुन् । दलका नेताको स्थानमा उपनेताको नेतृत्वमा सरकार गठन गर्ने विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग समेत कुराकानी भइसकेको छ । मुख्यमन्त्री फेर्ने विषयमा दबाब बढाउन असन्तुष्ट सांसदहरूले आज पार्टी अध्यक्ष ओलीलाई भेट्ने तयारी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य एकराज कार्कीले अध्यक्ष ओलीसँग भेट्न समय मागिएको जानकारी दिँदै कोशीको समसामयिक विषयमा कुराकानी गरिने बताए ।

यसअघि असन्तुष्ट प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री फेर्ने विषयमा पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश इन्चार्ज शेरधन राईसमक्ष दबाब बढाएपछि उनीहरूले अध्यक्ष ओलीसँग यसै विषयमा संवाद गरेका थिए । भेटमा अध्यक्ष ओलीले यसअघिको वाचाअनुसार मुख्यमन्त्री कार्कीले सहज अवतरण गरिदिनुपर्ने बताएका थिए ।

भेटमा सहभागी एक नेताले अध्यक्ष ओलीलाई उद्धृत गर्दै भने, ‘हिक्मतजीले यसअघि नै मार्ग प्रशस्त गर्छु भनेकाले उहाँले बाटो खोलिदिनुहुन्छ । उहाँले गर्नुभएन भने म कुरा गर्छु ।’

तर, कहिलेसम्ममा मार्ग प्रशस्त गर्ने भन्ने समयसीमाबारे भने अध्यक्ष ओलीले केही नखुलाएको ती नेताले बताए । अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीबीच कुराकानी भएपछि मात्र यस विषयमा थप स्पष्ट हुने उनको भनाइ छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशहरूमा सत्ता साझेदारी गर्ने सहमति हुनुअघि नै गएको साउनमा कोशीका एमाले सांसदहरूले मुख्यमन्त्री कार्कीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । कार्कीविरुद्ध बहुमत पुर्‍याएर दलको नेताबाट हटाए पनि संविधानको धारा १६८ (५) अन्तर्गत गठन भएको सरकार भएकाले मुख्यमन्त्रीको पद नजाने अवस्था देखिएपछि उक्त विषय पार्टी नेतृत्वसमक्ष पुगेको थियो ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री बन्न नसक्ने भएपछि सो विषय टुङ्गो लगाउन अध्यक्ष ओली, एमाले कोशी नेतृत्व र मुख्यमन्त्री कार्कीबिच छलफल भएको थियो । उक्त छलफलमा मुख्यमन्त्री कार्कीले उपयुक्त समय आएपछि आफूले मार्ग प्रशस्त गर्ने बताएका थिए ।

अहिले असन्तुष्ट सांसदहरूले उपयुक्त समय आइसकेको भन्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरेका छन् । कोशीमा हाल एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच सत्ता समीकरण छ । कांग्रेससँगको सत्ता समीकरण सकिएपछि मुख्यमन्त्री फेर्ने विषय केही समय सामसुम भएको भए पनि अहिले पुनः बल्झिएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन