३ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको बचाउ गरेका छन्। उनले सभामुखप्रति भइरहेको आलोचना ‘सुविधाअनुसारको व्याख्या’ भएको टिप्पणी गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “नाराबाजीका बीचमा संसद् चल्नु राम्रो होइन, तर के यो पहिलो पटक हो त?” उनले विगतमा पनि विभिन्न दलले वेल घेरेर नाराबाजी गर्दा संसद् चलेको र त्यसबेला सभामुखहरूबारे यति तीव्र आलोचना नभएको दाबी गरे।
उनले आलोचकहरूलाई लक्षित गर्दै भनेका छन्, “वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मिडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो? के बोलिएको थियो? एकपटक आफैँलाई ऐनामा हेर्ने हो कि?”
भट्टराईले संसद् सञ्चालन र अवरोधका सन्दर्भमा केही गम्भीर प्रश्न पनि उठाएका छन्—
कस्ता विषयमा बैठक अवरुद्ध गर्ने?
सबैको सहमति कसरी बनाउने?
बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने?
उनले यस्ता सवालमा खुला छलफलको आग्रह गरेका छन्। “आउनुहोस्, छलफल गरौँ। सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापित गरौँ। अडानका नाममा प्रक्रियालाई बन्धक नबनाऔं,” भन्दै उनले प्रश्न उठाएका छन्— “दोषी सभामुख हो कि हाम्रो इगो?”














