पाल्पा — खेतबारीमा मकै, कोदो जस्ता बालीहरू बारम्बार बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानहरू विकल्पको खोजीमा लागे। र, अन्ततः उनीहरूले वन्यजन्तु नछुने, सुरक्षित र फाइदाजनक टिमुरखेतीलाई रोज्न थालेका छन्।
रैनादेवी छहरा गाउँपालिका–७ की गीता घर्ती भन्छिन्, “वनसँग जोडिएका गाउँहरूमा अन्नबाली लगाउनु सँगै जोखिम पनि बढेको छ, त्यसैले अहिले प्रायः सबैले बारीमा टिमुर लगाउन थालेका छन्।” उनका अनुसार बाँझो जमिन मात्र होइन, खेतीयोग्य जमिनमा समेत टिमुर रोप्न थालिएको छ।
पहिले मकै खेती गर्ने गरेकी घर्तीले हाल आफ्नै बारीमा ५० वटा टिमुरका बिरुवा रोपेकी छन्। “वन्यजन्तु दिनहुँजसो आउँछन्, लगाएको मकै भित्र्याउने बेलासम्म केही बाँकी रहँदैन। त्यसैले अब टिमुर खेती गर्न थालेकी हुँ,” उनले सुनाइन्।
पाल्पाका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला र फेक जस्ता गाउँहरूमा अन्नबाली संरक्षण गर्न गाह्रो भएपछि टिमुर खेतीले व्यापकता पाइरहेको छ।
रिब्दीकोट–६ का बुद्धबहादुर राना भन्छन्, “पहिले बारीमा टिमुर रोप्दा मान्छे हाँस्थे, अब चाहिँ सबैले टिमुर रोप्न थालेका छन्।” उनका अनुसार टिमुरले बारीको छेउ, ढिक र खोरियासम्म पनि ढाकेको छ।
हाल पाल्पामा दुई हजारभन्दा बढी किसानले टिमुरखेतीबाट लाभ लिइरहेका छन्। असारको अन्तिमदेखि असोज–कात्तिकसम्म बिक्री हुने टिमुरबाट किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गरिरहेका छन्। रिब्दीकोटका किसान शिवबहादुर जिसीले आफूले वार्षिक दुई लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए।
टिमुरको प्रयोग अचार, मसला, औषधिजस्तै बहुप्रयोगी भएकोले पछिल्लो समय यसको माग शहरी क्षेत्रमा बढ्दो छ। अर्गानिक खाद्यवस्तु र जडीबुटीप्रति जनचासो बढेपछि टिमुरको मूल्य पनि राम्रो पाइने गरेको किसानहरूको भनाइ छ।
डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, “टिमुर खेती वन्यजन्तुको आक्रमणबाट जोगिन्छ र दीर्घकालीन आम्दानीको स्रोत बन्छ।” उनका अनुसार टिमुर एकपटक लगाएपछि वर्षौंदेखि उत्पादन दिन्छ, र कार्यालयले आवश्यक बिरुवाहरू पनि वितरण गर्दै आएको छ।
पूर्वखोला, निस्दी लगायतका पाल्पाका धेरै ठाउँ टिमुर खेतीका लागि उपयुक्त भएको र यस क्षेत्रलाई ‘पकेट क्षेत्र’ का रूपमा विस्तार गर्ने योजना बनाइएको छ।










