तिलोत्तमा —
कसैका लागि ५०० मिटर केही मिनेटको दूरी मात्र हो। तर कसैका लागि ५०० मिटर जीवनसँगको लडाइँ, कसैका लागि फेरि उठ्ने साहस, र कसैका लागि “म अझै सकिएको छैन” भन्ने घोषणापत्र। आज तिलोत्तमामा यही ५०० मिटर दूरीले दर्जनौँ मनहरू हल्लायो, आँखा रसाइदियो र समाजलाई गहिरो प्रश्न सोध्यो—के हामी बिरामीलाई केवल सहानुभूति दिन्छौं, कि अवसर पनि दिन्छौं?
नव जीवन फिजियो रिह्याब सेन्टर, तिलोत्तमा–३, रुपन्देहीको आयोजनामा स्ट्रोक (Stroke) र स्पाइनल कर्ड इन्ज्युरी (Spinal Cord Injury) का बिरामीहरूका लागि ‘प्रत्येक पाइला उत्सवको’ ५०० मिटर फन रन तथा वाकिङ च्यालेन्ज आज सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता गर्दै नव जीवन फिजियो रिह्याब सेन्टरका म्यानेजिङ डाइरेक्टर आशिक ढकालले भावुक हुँदै भने—“यी मानिसहरू उपचारको कोठामा मात्रै सीमित होइनन्, उनीहरू समाजमा फर्किन तयार छन्। हामीले ढोका खोलिदिनु मात्रै पर्छ।”
आजको कार्यक्रममा ५० भन्दा बढी थेरापी उपचार गराइरहेका बिरामीहरूको सहभागिता थियो। कसैको चाल असन्तुलित थियो, कसैको हात काँपिरहेको, कसैको पाइला ढिलो—तर सबैको आँखामा एउटै उज्यालो थियो—आशा।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा–३ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले यस्ता कार्यक्रमले अपांगता वा दीर्घ रोगलाई लुकाउने होइन, गर्वका साथ स्वीकार गर्दै अघि बढ्ने संस्कार विकास गर्ने बताए। उनले नव जीवन फिजियो रिह्याब सेन्टरको प्रयासलाई स्थानीय तहबाट निरन्तर साथ रहने प्रतिबद्धता जनाए।
अतिथि अस्थायी प्रहरी चौकी डाइभरटोलका इन्चार्ज सहि रमेश कुवरले सुरक्षा निकाय केवल कानूनका लागि होइन, यस्ता मानवीय र प्रेरणादायी अभियानका लागि पनि सधैं तयार रहने बताए।
कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, समाजसेवी, प्रहरी, सामाजिक अभियान्ता र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो। स्वास्थ्य तथा सामाजिक अभियान्ता भरत जंग क्षेत्रीको उपस्थितिले कार्यक्रमलाई अझ गहिरो अर्थ र ऊर्जा दिएको थियो।
कार्यक्रम मोति थापा (प्रशासन प्रमुख) को सञ्चालनमा सम्पन्न भयो। वरिष्ठ फिजियो थेरापिस्ट मिलन के.सी. ले स्वागत मन्तव्य राख्दै भने—“शरीर ठीक गर्न औषधि र थेरापी चाहिन्छ, तर मन ठीक गर्न समाजको साथ चाहिन्छ।” कार्यक्रमको सबैभन्दा भावनात्मक क्षण तब आयो, जब बिरामीहरूको तर्फबाट सरस्वती बस्नेत, दीपक क्षेत्री र एमलाल खनालले बोले।
उनीहरूको शब्दमा पीडा थियो, तर त्योभन्दा ठूलो आत्मविश्वास थियो। “हामीलाई दया होइन, विश्वास चाहिएको हो,” भनेपछि धेरैको आँखामा आँसु रोकिएन।
कार्यक्रमको बीचमा सहभागीहरूले गीत गाए। त्यो गीत मनोरञ्जन मात्र थिएन, त्यो गीत पुनर्जन्मको आवाज थियो। पूरै वातावरण भावनाले भरिएको थियो—स्वास्थ्य विज्ञहरूका अनुसार स्ट्रोक र स्पाइनल कर्ड इन्ज्युरीजस्ता अवस्थाका बिरामीहरूमा यस्ता सामूहिक शारीरिक गतिविधि कार्यक्रमहरूले मनोबल बढाउने, डिप्रेसन कम गर्ने, समाजसँग पुनः जोड्ने र उपचारप्रति सकारात्मक सोच विकास गर्ने अत्यन्त महत्वपूर्ण भूमिका खेल्छन।
नव जीवन फिजियो रिह्याब सेन्टरले स्पष्ट सन्देश दिएको छ—रिह्याब भनेको केवल उपचार होइन, रिह्याब भनेको जीवनतर्फ फर्कने यात्रा हो। आज तिलोत्तमामा प्रमाणित भयो—प्रत्येक पाइला साँच्चिकै उत्सव हो।








