विज्ञापन

एनपीएल : पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा चितवन, ह्याट्रिक गर्ने दाउमा सुदूरपश्चिम

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल जित्ने टोलीले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । हार्ने टोलीको भने यस सिजनको यात्रा समाप्त हुनेछ ।

दुई टोलीका लागि आजको खेलको महत्त्व फरक छ । लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ सुदूरपश्चिम । चितवन भने पहिलो पटक एनपीएलको फाइनलमा स्थान बनाउने ध्याउन्नमा छ ।

लिग चरणमा दोस्रो स्थान हासिल गरेको सुदूरपश्चिम यस सिजनको पनि बलियो टोलीमध्ये एक हो । सात खेलबाट १० अंक जोडेको उसले पाँच खेल जितेको थियो ।

तर पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमको आत्मविश्वासमा केही धक्का लागेको छ । उक्त खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्रै बनाउन सकेको थियो ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ५२ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । इशान पाण्डेले २७ रन बनाएका थिए । टोलीका अन्य प्रमुख ब्याटर चल्न नसक्दा सुदूरपश्चिम सामान्य योगफलमा सीमित भएको थियो ।

आज चितवनविरुद्ध मैदान उत्रँदा सुदूरपश्चिमको पहिलो चुनौती ब्याटिङमा सुधार गर्नु हुनेछ । ब्रान्डन म्याकमुलन प्लेअफअघि नै फर्किएकाले ब्याटिङमा प्रभाव परेको छ । जर्ज मुन्से, बिनोद भण्डारी, थानुका डबारे, इशान पाण्डे र दीपेन्द्रको ब्याटिङ टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

बलिङमा स्कट कुगेलेइन, थारिन्दु रत्नायके, अनिल खरेल र अविनाश बोहरामाथि सुदूरपश्चिमको भरोसा रहनेछ । पहिलो क्वालिफायरमा थारिन्दुले २ विकेट लिएका थिए । कप्तानले अनिल र अविनाशलाई भने एक ‌ओभर पनि बल गर्न दिएका थिएनन् । सुदूरपश्चिमको बलिङ आक्रमणमा विविधता भए पनि चितवनका अनुभवी ब्याटरलाई रोक्नु सहज हुनेछैन ।

कमिल मिसाराको लयमा चितवनको आशा

चितवन राइनोजले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । उक्त खेलमा चितवनले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको थियो ।

चितवनको जितका नायक बने श्रीलंकाली ब्याटर कमिल मिसारा । उनले ५९ बलमा अविजित १२० रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान कायम गरे । उनको इनिङ्समा १० छक्का र ५ चौका समावेश थिए ।

मिसाराको विस्फोटक ब्याटिङकै मद्दतमा चितवनले २०४ रनको विशाल योगफल बनाएको थियो । जवाफमा काठमाडौंलाई १४३ रनमै समेट्दै चितवनले प्रभावशाली जित निकाल्यो । बलिङमा रिजन ढकालले ४ विकेट लिए । उनले १६ रन खर्चिएका थिए । उसामा मिरले ३ विकेट लिएपछि काठमाडौंको ब्याटिङ धराशायी बनेको थियो ।

आज पनि चितवनको ब्याटिङमा मिसाराको भूमिका अपेक्षित छ । उनको साथमा अन्य ब्याटरले पनि जिम्मेवारी लिनुपर्नेछ । डेभिड मलान, रवि बोपारा, देव खनाल, कुशल मल्ल र विवेक यादवबाट चितवनले ठूलो अपेक्षा गर्नेछ ।

विशेषगरी कप्तान रवि बोपारा चितवनका अनुभवी ब्याटर हुन् । उनले यस सिजन सुदूरपश्चिमविरुद्धको अघिल्लो भेटमा ४० बलमा ४९ रन बनाएका थिए । मलानको अनुभव र कुशल मल्लको आक्रामक क्षमताले चितवनको ब्याटिङलाई थप बलियो बनाउन सक्छ । बलिङमा रिजन ढकाल, उसामा मिर, कमलसिंह ऐरी, रञ्जित कुमार र सलाउद्दिन खान महत्त्वपूर्ण हुनेछन् ।

आजको खेलमा विश्रामको अवस्थाले पनि भूमिका खेल्न सक्छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर मङ्गलवार खेलेको थियो । चितवनले भने बुधवार एलिमिनेटर खेलेर आज मैदान उत्रनुपर्नेछ । यस हिसाबले सुदूरपश्चिमले चितवनभन्दा बढी विश्राम पाएको छ । चितवनका खेलाडीले लगातार दुई दिन खेल्नुपर्ने भएकाले शारीरिक थकान चुनौती बन्न सक्छ ।

तर अर्कोतर्फ चितवनले काठमाडौंविरुद्ध ६१ रनको ठूलो जित निकालेर आएको छ । मिसाराको शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनले टोलीको मनोबल उच्च बनाएको छ । सुदूरपश्चिम भने पहिलो क्वालिफायरमा ब्याटिङमा नराम्रोसँग चुकेको छ ।

यसैले विश्रामको फाइदा सुदूरपश्चिमलाई भए पनि खेलको मनोवैज्ञानिक पक्षमा चितवन कमजोर देखिँदैन ।

हेड टु हेडमा सुदूरपश्चिम अगाडि

एनपीएल इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म तीन खेल भएका छन् । त्यसमध्ये सुदूरपश्चिमले दुई र चितवनले एक खेल जितेका छन् । सन् २०२४ को पहिलो संस्करणमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराएको थियो । सन् २०२५ मा सुदूरपश्चिमले ४९ रनको जित निकाल्दै बदला लिएको थियो ।

यस सिजनको समूह चरणमा भएको भेटमा पनि सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । उक्त खेलमा म्याकमुलनले २१ बलमा ४३ रन बनाउँदै सुदूरपश्चिमको जित सहज बनाएका थिए ।

तीन खेलको समग्र नतिजा हेर्दा सुदूरपश्चिम अगाडि भए पनि आजको खेलमा त्यसले मात्रै निर्णायक भूमिका खेल्ने छैन । पछिल्लो समयको प्रदर्शन र खेलाडीको लय महत्त्वपूर्ण हुनेछ ।

सुदूरपश्चिमसँग अनुभव र बलियो बलिङ आक्रमण छ । लगातार दुई संस्करणको फाइनल खेलेको टोली भएकाले दबाबपूर्ण खेलको अनुभव पनि उससँग छ । दुवैपटक फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित अघि बढ्न चाहन्छ ।

चितवनका लागि भने यो ऐतिहासिक अवसर हो । एलिमिनेटरमा काठमाडौंविरुद्ध देखाएको ब्याटिङ र बलिङको प्रदर्शन दोहोर्‍याउन सके उसले सुदूरपश्चिमलाई रोक्न सक्छ । मिसारा, मलान र बोपाराले ब्याटिङमा राम्रो साझेदारी गरे चितवनको सम्भावना बलियो हुनेछ ।

यस सिजन त्रिवि मैदानमा पहिलो इनिङ्सको औसत योगफल करिब १४५ रन रहेको छ । त्यसैले १६० आसपासको स्कोर प्रतिस्पर्धात्मक हुन सक्छ । तर मिसाराले अघिल्लो खेलमा २०० रनभन्दा बढीको योगफल सम्भव बनाइसकेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन