२६ जेठ, काठमाडौं — नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। संगठनका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख मदन ढकालका अनुसार अभियान जेठ २५ देखि भदौ २५ सम्म तीन महिनासम्म सञ्चालन हुनेछ।
यस अभियानको मुख्य उद्देश्य देशभरका शिक्षण संस्थाहरूमा संगठन विस्तार गर्नु रहेको छ। विशेष गरी आधारभूत तहभन्दा माथिका सबै शैक्षिक संस्थाहरूमा संगठन निर्माण गर्ने लक्ष्य राखिएको छ। अभियान अन्तर्गत “एक इकाई एक प्रशिक्षण”, “एक संगठन एक संघर्ष”, र “हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय” जस्ता कार्यक्रमहरू समावेश गरिनेछ।
ढकालका अनुसार अभियान अवधिमा नयाँ सदस्यता वितरण र नवीकरणमार्फत पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य रहेको छ। साथै विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्दै गएको भन्दै त्यसको विरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।
यो अभियानले संगठन सुदृढीकरणसँगै विद्यार्थीहरूलाई राजनीतिमा सचेत बनाउने लक्ष्य राखेको अखिल (क्रान्तिकारी)को दाबी छ।

















