असार १ गते, काठमाडौं — नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको छ। निर्धारित समय बिहान ११ बजे भए पनि करिब दुई घन्टा ढिलो गरेर बैठक सञ्चालनमा आएको हो। बैठक सुरु भएलगत्तै संसदमा तनावपूर्ण अवस्था देखिएको छ।
बैठक प्रारम्भ भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरू उभिएर निरन्तर विरोध जनाइरहेका छन्। सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए पनि, रास्वपाले आक्रोशस्वरूप सभामुखको कुर्सी घेराउ गर्दै नाराबाजी गरेका छन्।
आजको कार्यसूची अनुसार राष्ट्रियसभाबाट आएको ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख गरिएको छ। साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा खर्चको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गर्ने कार्यसूची पनि आजकै बैठकमा समावेश गरिएको छ।

















