२३ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे प्रतिनिधिसभामा जानकारी गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नेपालले अतिकम विकसित मुलुकहरूको तर्फबाट नेतृत्व गर्दै न्यायपूर्ण आर्थिक–सामाजिक विकासको पक्षमा वकालत गरेको बताए। उनले सम्मेलनबाट नेपालले अन्तर्राष्ट्रिय समुदायमा सक्षम, जिम्मेवार र अग्रसर मुलुकको छवि बनाएको जिकिर गरे।
उनले सम्मेलनका क्रममा विभिन्न साइडलाइन वार्ता, गोलमेच सम्मेलन र नागरिक समाजको भेलामा सहभागिता जनाएर विकास साझेदारीका प्राथमिकताहरू मुखर बनाएको जानकारी गराए। नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्यसहित अन्तर्राष्ट्रिय साझेदारीमा सक्रिय भूमिका खेलेको उनले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजसँग दुईपक्षीय भेटवार्ता भएको र भ्रमणबाट नेपाल–स्पेन सम्बन्ध तथा राष्ट्रसंघसँगको सहकार्य अझ सुदृढ भएको बताए। सम्मेलनले आर्थिक कूटनीतिलाई अगाडि बढाउने अवसर मिलेको र वैदेशिक लगानी बढ्ने आशा पनि उनले व्यक्त गरे।















