विज्ञापन

एक वर्षमै ओली मन्त्रिपरिषद्‌का दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त

विज्ञापन
Image
विज्ञापन

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको एक वर्षको अवधिमा दुई मन्त्री र एक राज्यमन्त्रीले पद गुमाइसकेका छन्। गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको मन्त्रिपरिषद्को एक वर्ष पूरा हुँदासम्म सरकारका तीन जना पदाधिकारीले विभिन्न कारणले पद त्यागेका वा हटाइएका छन्।

सर्वाधिक पछिल्लो घटनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका छन्। घुस डिल प्रकरणमा मुछिएको आरोप लागेपछि उनले फेसबुकमार्फत आफू “नखाएको विषको सिकार” भएको भन्दै सत्य छानबिन होस् भनेर पद त्यागेको जनाएका छन्।

यसअघि वैशाख ८ गते शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी थिइन्। विद्यालय शिक्षा ऐनबारे प्रधानमन्त्रीसँग मतभेद देखिएपछि उनी राजीनामा दिन बाध्य भएको भनिए पनि उनले औपचारिक रूपमा अस्वस्थताको कारण देखाएकी थिइन्। दुवैजना एमाले कोटाबाट मन्त्री बनेका थिए।

यस्तै वैशाख १० गते ऊर्जा राज्यमन्त्री कान्छामान तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए। कांग्रेस कोटाबाट मन्त्री बनेका तामाङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्ट देखिएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा तामाङलाई हटाइएको बताइएको छ।

त्यस्तै, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी पनि घुस डिल प्रकरणमा मुछिएको आरोप खेपिरहेका छन्। तर, उनले प्रतिनिधिसभामा आरोप अस्वीकार गर्दै आफूमाथि प्रमाणसहित चुनौती दिन सांसदहरूलाई आग्रह गरेका छन्।

अर्कोतर्फ, गृहमन्त्री रमेश लेखक पनि भिजिट भिसा प्रकरणमा मुछिएका छन्। जेठ १३ देखि विपक्षी दलले राजीनामाको माग गर्दै आएको भए पनि उनले पद नछाड्ने अडान लिएका छन्। उक्त प्रकरणबारे सरकारले छानबिन समिति गठन गरिसकेको छ।

एक वर्षको छोटो अवधिमै यति धेरै मन्त्री विवादमा तानिनु र पद गुमाउनु वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउने विषय बनेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन