म्याग्दी — अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खयरबाराही (खयरभारानी) तालसम्म पुग्नको लागि पदमार्ग निर्माण गरिएको छ। यो धार्मिक तथा पर्यटकीय स्थलसम्मको बाटो स्थानीय समुदाय र भक्तजनको चन्दा सहयोगमा निर्माण गरिएको हो।
खयरबाराही थान तथा क्षेत्र संरक्षण व्यवस्थापन समितिको अगुवाइमा पाउद्वार गाउँदेखि खयरताल जोड्ने २७.५ किलोमिटर लम्बाइको पदमार्ग निर्माण भएको छ। यो कार्यमा कुल १ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम संकलन गरिएको थियो।
समितिका संस्थापक एवं सेवा निवृत्त बेलायती गोर्खा सैनिक राजु पुनका अनुसार, दिवङ्गत आफन्तहरूको स्मृतिमा बाटो र विश्रामस्थल (चौतारा) निर्माण गर्ने परम्परालाई धार्मिक पर्यटनसँग जोड्दै यो अभियान अघि बढाइएको हो। वि.सं. २०७२ सालदेखि थालिएको अभियानले एक दशकपछि लक्ष्य पूरा गरेको हो।
पुनका अनुसार, ६७ जना दाताहरुको सहयोगमा पदमार्ग निर्माण सम्पन्न भएको हो। यसअन्तर्गत, पाउद्वार–लरेनी खण्डमा ४.५ किलोमिटर, लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र खोप्रा–खयर खण्डमा १२ किलोमिटर बाटो निर्माण गरिएको छ। साथै, बाटोको छेउमा चौतारा, विश्रामस्थल र खानेपानीका धारा समेत बनाइएको छ।
पदमार्ग निर्माणपछि आवतजावत सहज बनेको स्थानीय बासिन्दा हरिप्रसाद तिलिजाले जानकारी दिए। अब भक्तजन, पर्यटक तथा स्थानीयवासीलाई धार्मिकस्थलसम्म पुग्न सजिलो भएको छ।
समितिको संयोजनमा दाताहरुको सहयोगमा विभिन्न ठाउँमा आश्रयस्थल, खानेपानी तथा लजको व्यवस्था गरिएको छ। पदमार्ग निर्माणमा योगदान दिने सबै दाताहरूको नामसहित विवरण राखेर शिलालेख समेत जडान गरिएको छ।
खयरताल, अन्नपूर्ण र बराह शिखर हिमालको काखमा अवस्थित धार्मिक स्थल हो, जहाँ जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ। यस दिन करिब १२०० भक्तजन पूजाआजा र दर्शन गर्न आउने गर्दछन्। श्रद्धालुहरू आफ्ना मनोकामना पूरा भएपछि बली चढाउने परम्परा समेत कायम छ।
खयरतालतर्फको बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ। ३,६६० मिटर उचाइमा रहेको यस स्थानबाट धौलागिरी, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल तथा सूर्योदय–सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ। स्थानीयले यसलाई ‘खोपारा’ भनेर चिन्ने गरेका छन्। यहाँ पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरिरहेको छ भने चौरी तथा भेडाबाख्राको गोठ समेत आकर्षणको केन्द्र बनेको छ।
पाउद्वारबाट एक दिनको यात्रा गरी खोप्रा पुग्न सकिन्छ भने खयरताल पुग्न दुई दिनको पदयात्रा आवश्यक पर्छ।













