७ साउन, विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चर्चेको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् ।
बुधबार उनले नगर अस्पताल निर्माणका लागि जग्गा फिर्ता माग्दै पत्र लेखेका हुन् । तर, उनले लेखेको पत्रको भाषा शैली अमर्यादित छ ।
‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ, अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।’
धरान उपमहानगरपालिकाको आफ्नै अस्पताल छैन । यसअघि स्वास्थ्य बीमा बोर्डले बीपी प्रतिष्ठानलाई रेफरल सेन्टर मात्रै तोकेपछि धरानमा अस्पताल निर्माणको बहस चलेको थियो ।
पुरानो अस्पताल भएको स्थानमा नगर अस्पताल बनाउने प्रस्ताव हर्क साम्पाङले अघि सारेका थिए । तर नगरले अस्पताल बनाउने भनेको जग्गा ३४ वर्षदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा छ ।
साम्पाङले फिर्ता माग्दै पत्र पठाएको जग्गा धरान उपमहानगरपालिकाको होइन । प्रतिष्ठान स्थापना हुँदै गर्दा नै प्रतिष्ठानको नाममा दर्ता भएको थियो । नयाँ संरचना निर्माण हुनुअघि प्रतिष्ठान सोही स्थानमा सञ्चालन भएका थियो ।
मेयर साम्पाङले मंगलबार पनि बीपी प्रतिष्ठानले लगेको जग्गा फिर्ता माग्दै आन्दोलन गर्न उक्साएका थिए । उनले लेखेका थिए, ‘भोलि देखि बीपी अस्पतालले हाम्रो पुरानो अस्पताल आफ्नो नाममा जग्गा सुटुक्कै लगेको विरुद्ध प्रदर्शन गर्दै जग्गा फिर्ता गर्न दबाव दिऔं, नगर अस्पताल खोल्नु परो के हाम्ले पनि ।’
बीपी प्रतिष्ठानले मेयर साम्पाङको अभिव्यक्तीप्रति असन्तुष्टि जनाएको छ ।
‘धरान छाताचौक स्थित पुरानो अस्पताल तथा स्वयं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पति भएको तथ्य अवगत गराइन्छ’, प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिष्ठान स्थापना भए पश्चात तत्कालीन श्री ५ को सरकारको मिति २०४८-१०-०४ को निर्णय बमोजिम साविकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ अनुसार सञ्चालन भएको प्रतिष्ठान हो ।
प्रतिष्ठान स्थापना भए पश्चात धरान बजार स्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी भएको थियो ।
प्रतिष्ठानले पुरानो धरान अस्पतालमा ओपीडी सेवा सञ्चालन गरेको थियो । तर सेवाग्राहीले प्रतिष्ठानमै सेवा लिन आउन चाहेका कारण ओपीडी बन्द गरेको थियो ।
‘विधि र प्रकृयासम्मत प्रतिष्ठानको लागि भविष्यमा सेवा विस्तार गर्ने लक्ष्य अनुरूप भोगाधिकार दिई प्रतिष्ठानको नाममा नामसारी भएको कुरालाई धरान उपमहानगरपालिकाको प्रमुख जस्तो स्थानिय सरकार प्रमुखबाट ‘सुटुक्कै लगेको’, ‘हडपेको’ जस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह हुने हुँदा यस प्रकारले नबुझिदिन प्रतिष्ठान अनुरोध गर्दछ,’ प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै भनेको छ ।
‘पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आमधारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छ’, प्रतिष्ठानले विज्ञप्तिमा भनेको छ ।















