बुटवल, १० साउन । पार्टी नेतृत्व परिवर्तनको मागसँगै आन्तरिक असन्तोषको स्वर चर्कँदै गएको बेला, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन्। संगठनको साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई सबै जिम्मेवारीबाट पदमुक्त गर्दै आगामी एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। संघका महासचिव रमेश चौलागाईले जारी गरेको निर्णयपत्रमा यो कारबाही संघको विधान २०४७ को संशोधित धारा ४१ र ४२ (क) तथा (ख) अनुसार गरिएको उल्लेख छ।
रुपन्देहीको देवदहका स्थायी बासिन्दा सुरज खरेलमाथि पोखरामा सम्पन्न १०औं महाधिवेशनका क्रममा अध्यक्षमण्डलका केही सदस्यहरूप्रति अशिष्ट व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्क्याएको, सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वमाथि लाञ्छना लगाएको, र केन्द्रीय निर्देशन अवज्ञा गर्दै एकपक्षीय रूपमा प्रदेश सचिवालय बैठक सञ्चालन गरेको आरोप छ। महासचिवका अनुसार, उनलाई तीन दिनभित्र व्यक्तिगत रूपमा उपस्थित भई स्पष्टिकरण दिन भनिए पनि उनले इमेलमार्फत तीन पृष्ठ लामो जवाफ पठाएका थिए। खरेलले जवाफमा आफू सुमन पुरीको पक्षमा उभिएको स्वीकार गरेका छन् तर कुनै पनि व्यक्तिलाई अपमानजनक व्यवहार नगरेको दाबी गरेका छन्। साथै, नेतृत्व परिवर्तनको माग गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको तर्क छ।
सुरज खरेलले आफ्नो निलम्बनलाई अन्यायपूर्ण र पूर्वाग्रहयुक्त भन्दै अस्वीकार गरेका छन्। उनले आफू निर्वाचित नेतृत्व भएको भन्दै, केवल अर्को महाधिवेशनबाट मात्र हटाउन सकिने जिकिर गरेका छन्। उनले यस्तो कदम पार्टीभित्र विचार शुद्धीकरणको नाममा विरोधको स्वर दबाउने प्रयास भएको आरोप लगाएका छन्। “आवश्यक परे समानान्तर कमिटी पनि बन्न सक्छ,” भन्दै उनले संगठनभित्र थप संघर्ष चर्किने संकेत दिएका छन्।
केही समयअगाडि खरेलले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित फेसबुकमा स्टाटस लेख्दै सम्मानजनक रूपमा नेतृत्व परिवर्तन गर्नुपर्ने उल्लेख गरेका थिए। “अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्,” भन्ने सामाजिक सञ्जाल पोस्ट अहिलेको कारबाहीसँग प्रत्यक्ष जोडिएको देखिन्छ।
सुरज खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। युवा संघको नेतृत्वमा सक्रिय रहँदै आएका उनी पछिल्लो समय संगठनभित्र आलोचनात्मक आवाज उठाउने थोरै नेतामध्ये एकका रूपमा उभिएका थिए। तर त्यो स्वर पार्टी अनुशासनविपरीत ठहर गर्दै अब उनी संगठन बाहिर पु¥याइएका छन्। यो घटनाले पार्टीभित्र आलोचना सहन सक्ने सीमा र विचार भिन्नताप्रति संगठनको दृष्टिकोणमाथि प्रश्न उठाएको छ।
यस प्रकरणले केवल एक व्यक्तिको निलम्बन मात्र होइन, नेतृत्वको आलोचना गर्नेलाई संगठनले कसरी हेरिरहेको छ भन्ने गम्भीर संकेत दिएको छ। लोकतन्त्रको अभ्यास गर्न खोज्ने आफ्नै सदस्यमाथि कठोर कारबाही गर्ने प्रवृत्तिले संगठनभित्र आन्तरिक लोकतन्त्र कत्तिको जीवित छ भन्ने बहसलाई अझ बलियो बनाएको छ।















