१० जेठ, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले ६ वर्षअघि खरिद गरेको एक्सरे मेसिन अझै सञ्चालनमा आउन सकेको छैन ।
२०७७ चैतमा पालिकाको वडा नं १ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीका लागि खरिद गरिएको मेसिन जडान नै नभई प्रयोगविहीन छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा पालिकालाई एक्सरे मेसिन खरिदका लागि ३८ लाख ९३ हजार ८ सय ५ रुपैयाँ पठाएको थियो ।
बजेट प्राप्त पछि पालिकाले बोलपत्र आह्वान गर्दै २०७७ फागुन ६ गते सूचना प्रकाशित गर्यो । बोलपत्र प्रक्रियामार्फत एभरेष्ट मेडिको फर्मा लमही दाङले ३४ लाख ५० हजारमा खरिद प्रक्रियाको जिम्मा लिएको थियो ।
फर्माले जिम्मा पाएलगत्तै मेसिन खरिद गरेर स्वास्थ्यचौकीमा जडान गरिएको दाबी गरेपनि त्रिपुरासुन्दरी कै एक कर्मचारीले भने नजोडेरै मेसिन मात्रै स्वास्थ्य चौकीमा पुरयाएको बताए ।
उनले भने, ‘मेसिन खरिद गर्ने देखि जडान गर्नेसम्म फर्माले नै गर्नु पर्ने हो । बत्तीको समस्या देखाएर ल्याएको मेसिन जडान नै गरेन ।’
जडान नै नगरेको मेसिनको भुक्तानी रोक्नु पर्ने ठाउँमा पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले भुक्तानी पूरै दिएको उनको भनाइ छ ।
उनका अनुसार मेसिन खरिददेखि एकपटक सञ्चालन गरिसकेपछि मात्रै भुक्तानी प्रक्रिया पूरा हुनु पर्ने हो तर पालिकाले नै सञ्चालन नहुँदै सबै भुक्तानी दिइसकेको छ ।
खरिद गरेको केही समयसम्म विद्युत् अभावका कारण मेसिन संञ्चालनमा आउन नसकेपछि सञ्चालनका लागि भन्दै पालिकाले करिब १० लाख रुपैयाँ खर्च गरेर जेनेरेटरसमेत खरिद गर्यो तर त्यसपछि पनि मेसिन प्रयोगमा आउन सकेन ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख थानेश्वर पनेरुका अनुसार मेसिन लामो समय प्रयोगविहीन हुँदा तारहरू मुसाले काटेका छन् भने मेसिनमा खिया लागेर केही पाटपुर्जा बिग्रेका छन् ।
पालिकाले मेसिन सञ्चालनको लागि दुई पटक प्राविधिक ल्याएको कोसिस गरेर पनि सञ्चालनमा ल्याउन नसकेको उनले बताए ।
मेसिन सञ्चालनमा नआउँदा सामान्य एक्सरे सेवा लिनसमेत स्थानीय बिरामीहरूलाई सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता छ । यसले समय र आर्थिक भार दुवै थपिएको त्रिपुरासुन्दरीका स्थानीय हरिकुमारी सार्कीले बताइन्। ‘हाम्रै पालिकामा एक्सरे मेसिन किनेर ल्याएको भन्ने सुनेको थिएँ । अहिलेसम्म एक्सरे गरेको थाहा छैन’, उनले भनिन्, ‘प्रयोग मै नल्याउने भने किन र केका लागि खरिद गरेका हुन् कुन्नि ।’
त्रिपुरासुन्दरी-०१ का वडाध्यक्ष रामचन्द्र कुलालले मेसिन सञ्चालनका लागि पटक-पटक पहल गरे पनि सुनुवाइ नभएको जानकारी दिए । उनले कार्यपालिकामा विषय उठाउँदा समेत आवश्यक चासो नदिएको बताए ।
यता जिल्ला अस्पतालका तत्कालीन चिकित्सक प्रमुख डाक्टर अखण्ड उपाध्यायले उक्त मेसिन पुरानो प्रविधिको भएको बताए ।
उनका अनुसार अहिले ३० लाख रुपैयाँमै गुणस्तरीय डिजिटल एक्सरे मेसिन खरिद गर्न सकिने अवस्था छ । जिल्ला अस्पतालबाट प्राविधिक पठाएर सञ्चालन प्रयास गरिए पनि सफल हुन नसकेको उनले जानकारी दिए ।
अहिले युक्त एक्सरे मेसिन त्रिपुराकोट स्वास्थ्य चौकीमा कवाडी झै थन्किएको छ । लाखौं खर्च गरेर ल्याएको मेसिन प्रयोगमा नआएपछि त्रिपुरासुन्दरीका स्थानीय सामान्य एक्सरे गर्नको लागी हजारौं खर्च गरेर सदरमुकाम जान बाध्य छन् ।
त्रिपुरासुन्दरीको अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको पालामा खरिद गरिएको उक्त मेसिन दोस्रो कार्यकालका जनप्रतिनिधिहरुको कार्यकाल बित्न लाग्दा समेत सञ्चालनमा चासो नदिएको पाइएको सरोकारवालाको आरोप छ ।















