विज्ञापन

बनिनसक्दै भासियो मध्यपहाडीको ग्याबिन वाल

विज्ञापन
Image
विज्ञापन

२० जेठ, खोटाङ । खोटाङमा मध्यपहाडी लोकमार्गको ग्याविन वाल बनिनसक्दै भासिएको छ । मध्यपहाडीको दिक्तेल–खचेवा खण्ड अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित माम्खामा हालिएको ग्याविन पर्खाल बनिनसक्दै भासिएको हो । ‘हाइवे इम्प्रोभमेन्ट वर्कस’ अन्तरगत सडक डिभिजन हर्कपुरमार्फत हालिएको ग्याविन वाल जेठ १५ गतेदेखि भासिन थालेको हो ।

निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले ग्याबिन वालको काम अन्तिम चरणमा पुर्‍याएको थियो तर काम पूर्णरुपमा सकिनु अगावै पर्खालको बीचको भाग भासिएको हो । तारजाली भर्दै सडकसम्म अग्लो पर्खाल निकालिसकिएको थियो । तर, त्यसमाथि फिलिङ गरेर सम्याउने काम सक्नु अगावै पर्खाल भासिएको हो ।

मध्यपहाडी कालोपत्रेकै चरणमा सो स्थानमा हालिएको आरसीसी वाल पनि भासिएको थियो । आरसीसी वाल ढल्किएपछि सो स्थानमा हालसम्म सडकलाई साँघुरै अवस्थामा छाडिएको थियो । सो स्थानको सडकलाई चौडा गर्नका लागि नयाँ ग्वाविन वाल हालिएको हो ।
सडकको ग्याविन वाल भासिएपछि सडक डिभिजन हर्कपुरका सिनियर डिभिजन इन्जिनियर सविन जोशी नेतृत्वको टोली निरीक्षण गर्न माम्खा पुगेका थिए । कमजोर भू-बनोटका कारण पर्खाल भासिएको देखिएको सिनियर डिभिजन इन्जिनियर जोशीले बताए । ‘यो अलि बेग्लैखालको केस आएको छ । काम गर्दाखेरीको त्रुटी पनि देखिँदैन’, जोशीले भने, ‘यससँग सम्वन्धित विज्ञसँग पनि सल्लाह गर्नेछौँ ।’

सडकको ग्वाविन वाल भासिएपछि त्यसभन्दा तलका घरहरु जोखिममा परेका छन् । स्थानीय भीमराज राई, देबेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई र नरबहादुर राईको घर जोखिममा परेको हो । ग्याबिन वाल भासिएपछि त्यसभन्दामुनिका मकैबारी पनि चर्किएको छ ।

कतिपयले बलियो जग नभेट्दै वाल उठाएका पर्खाल कारण भासिएको बताइरहेका छन् । कतिपयले कमजोर भू-बनोटका कारण पर्खाल भासिएको अनुमान गरिरहेका छन् । भित्तातिरको चट्टान काटेर सडक चौडा बनाए मात्र दिर्घकालीन हुने स्थानीय बताउँछन् ।

दिक्तेल-चखेवा सडक खण्डको विभिन्न ठाउँमा ग्याबिन वाल, प्लम वाललगायतका काम गर्नका लागि २ करोड ७९ लाख ७७ हजार ९१२ रुपैयाँमा ठेक्का लगाइएको हो । दोभान निर्माण सेवाले गत वैशाख ६ गतेसम्ममा सक्नेगरि मंसिर ४ गते ठेक्का सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि असार १५ गतेसम्म म्याद थप गरिएको सडक डिभिजन हर्कपुरले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन