१६ असार, गुल्मी । बागलुङको बडिगाड गाउँपालिकामा १५ शैयाको बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटनसँगै हेमोडायलाइसिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा कार्यक्रमसँगै आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पताल भवन उद्घाटन गर्दै डायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् ।
करिब १७ करोड १८ लाख ५३ हजार ८२ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अस्पताल भवनसँगै पाँच शय्याको हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याइएको हो । यस सेवाबाट बडिगाड गाउँपालिकासहित बागलुङको पश्चिमी क्षेत्र, गुल्मी तथा आसपासका जिल्लाका मृगौला रोगीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए ।
कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पताललाई आवश्यक प्रक्रिया पूरा गरी प्रदेश सरकारको मातहतमा ल्याउन सकिने बताए । उनले प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लामा डायलाइसिस सेवा विस्तार गरिरहेको उल्लेख गरे ।
मृगौला रोगीहरूले उपचारका लागि लामो समय पालो कुर्नुपर्ने र सेवा अभावका कारण सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले डायलाइसिस सेवा विस्तार अभियान सञ्चालन गरेको उल्लेख गरे । उनले बडिगाड अस्पतालमा सेवा सञ्चालन हुनु त्यस अभियानको महत्वपूर्ण उपलब्धि भएको बताए ।
पश्चिम बागलुङमा सडक, झोलुङ्गे पुल, खानेपानीलगायत पूर्वाधार विकासमा प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको जानकारी पनि दिए । आधुनिक अस्पताल भवनसँगै हेमोडायलाइसिस सेवा सञ्चालनमा आएपछि बडिगाड गाउँपालिकासहित बागलुङको पश्चिमी क्षेत्र, गुल्मी तथा छिमेकी जिल्लाका मृगौला रोगीहरूले आफ्नै क्षेत्रबाट उपचार सेवा पाउने भएका छन् । यसअघि डायलाइसिसका लागि बिरामीहरू बुटवल, पोखरा, काठमाडौं लगायतका सहर धाउनुपर्ने बाध्यता थियो ।
कार्यक्रममा बडिगाड गाउँपालिकाले पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा पनि गरेको थियो । ‘सबै वडा र टोलको एउटै आवाज, बडिगाड बनाउँदै देशकै उत्कृष्ट पोषणयुक्त स्थानीय सरकार’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
नवनिर्मित अस्पताल भवन र हेमोडायलाइसिस सेवा सञ्चालनसँगै बडिगाड क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन । कार्यक्रममा बडिगाड गाउँपालिकालाई पोषणमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणामा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरिएको थियो ।
पोषण सुधारका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायको समन्वयात्मक प्रयासलाई कार्यक्रममार्फत विशेष रूपमा प्रशंसा गरिएको थियो । अब पूर्वाधार निर्माणसँगै विशेषज्ञ स्वास्थ्य सेवा, आवश्यक जनशक्ति, आधुनिक उपकरण तथा औषधिको नियमित व्यवस्थापनमा पनि जोड दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पोषण, मातृ तथा शिशु स्वास्थ्य, सुरक्षित खानपान र स्वस्थ जीवनशैली प्रवद्र्धनका विषयमा समेत प्रतिबद्धता व्यक्त गरिएको थियो । स्थानीयवासीले लामो समयदेखिको माग पूरा भएको भन्दै अस्पताल भवन निर्माण र हेमोडायलाइसिस सेवा सञ्चालनले बडिगाड मात्र नभई पश्चिम बागलुङ, गुल्मी तथा आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गाउँपालिकाले आगामी दिनमा अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्यसमेत अघि सारेको जनाएको छ ।















