१७ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् ।
टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न र रिर्पोट लिन सकिने उनले जानकारी दिए । अस्पतालले हाल दुईवटा मेसिन यसका लागि तयार गरेको छ । मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, पेमेन्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।
अस्पतालका आइटी इन्जिनियर चन्द्रमणी बस्यालले दिएको जानकारी अनुसार अस्पतालको वेभसाइटमा गएर अनलाइन टिकटमा क्लिक गर्ने, बिरामीको विवरण भर्ने, के सम्बन्धी चेकजाँच गराउने हो त्यसमा क्लिक गरेर पेमेन्ट गर्ने र त्यसले दिएको कोर्ड लगेर मेसिनमा स्क्यान गर्दा टिकट निस्कन्छ । ‘अब भौतिक रुपमा उभिएर भिड गरेर टिकट लिनुपर्दैन, मेसिनबाट नै टिकट आउने व्यवस्था गरेका छौं’, अस्पतालका मेसु डा. बगालेले भने, ‘पहिला अनलाइन टिकट काटे पनि अस्पतालमा आएर लाइन बसेर टिकट लिनुपर्ने वाध्यता थियो, अब त्यो हट्छ, स्क्यान गरेरै टिकट आउँछ, रिर्पोट पनि आउँछ ।’
हाल दुईवटा मेसिन राखे पनि पछि आवश्यकता अनुसार मेसिनहरु थप गर्दै लैजाने डा. बगालेले बताए । मोवाइल एप्सबाट समेत काम गर्न मिल्ने गरी सोच अगाडि बढेको डा. बगालेले बताए ।
स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको इन्जिनियर बस्यालले जानकारी दिए । यी सबै कुराको परीक्षण सफल भैसकेकोले अब प्रयोगमा लैजाने काम सुरु भएको इन्जिनियर बस्यालले बताए ।
अनलाइन टिकट र प्रयोग गर्ने तरिकाका बारेमा भिडियो सामाग्री बनाउने तथा प्रोसेसका बारेमा जानकारीहरुमूलक सूचनाहरु तयार गर्ने अस्पतालका मेसु डा.बगालेले जानकारी दिए ।
‘अहिलेलाई मेसिन र भौतिक रुपमा उपस्थित भएर काट्ने दुवै चलाउँछौं, विस्तारै सबैलाई जानकारी गराउँदै अभ्यस्त बनाउँदै लगेर टिकट काउन्टरहरु बन्द गरेर सबै अनलाइन सिस्टमबाट मात्रै जाने गरी लैजान सोच छ’, डा. बगालेले भने, ‘अब टिकटदेखि डिस्चार्जसम्मका कामहरु अनलाइनबाट नै गर्ने भन्ने हो ।’
उनले पछि ओपीडी जाँचको समय स्लट नै दिने, बेड खाली भएको नभएको विवरणसमेत अनलाइनमा हेर्न मिल्ने व्यवस्था गर्ने तयारीसमेत अस्पतालले गर्ने जानकारी दिए ।














