१९ असार, पाँचथर । पाँचथरको शिवालय–रानीटार–लुङरुप सडकखण्डअन्तर्गत नाम्दुखोलामा नयाँ प्रविधिको पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज आवतजावतको सुविधा पाएका छन् ।
सडक कालोपत्रे भइसके पनि खोलामा बनाइएको कजवे बाढीले बगाएपछि केही वर्षदेखि सो सडकखण्डमा सवारी सञ्चालन हुन सकेको थिएन । निर्माणाधीन पुलसमेत बाढीले बगाउँदा स्थानीयले सास्ती भोग्दै आएका थिए ।
कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरले निर्माण गरेको ‘आर्च्ड’ प्रविधिको पुल सञ्चालनमा आएपछि सवारी आवागमन पुन: सुरु भएको छ । कार्यालयका अनुसार यो प्रविधिको पुल कोशी प्रदेशमै पहिलो पटक बनाइएको हो ।
पुल निर्माणसँगै फिदिम नगरपालिकाका वडा नं. ७, ८, १३ र १४ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यसअघि नै यस सडकको ७.५ किलोमिटर खण्ड कालोपत्रे भइसकेको थियो ।
रानीटार–फिदिम रुटमा सवारी चलाउँदै आएका चालक बलराम गुरुङका अनुसार पुल सञ्चालनमा आएपछि यात्रा समय उल्लेखनीय रूपमा घटेको छ । ‘पहिले घुमाउरो बाटो प्रयोग गर्दा फिदिम पुग्न करिब अढाइ घण्टा लाग्थ्यो । अहिले ४५ मिनेटमै पुग्न सकिन्छ । पुल पनि आकर्षक बनेको छ,’ उनले भने ।
पुल सञ्चालनमा आएपछि नाम्दुखोला क्षेत्रमा घुम्न जाने र सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्नेहरूको संख्या पनि बढ्न थालेको छ । ठाडो भिर र साना–साना झरनाले घेरिएको यस क्षेत्र पुलकै कारण नयाँ आकर्षणका रूपमा चिनिन थालेको स्थानीयको भनाइ छ ।
पूर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेशराज शाहका अनुसार ३०.३४ मिटर लामो उक्त पुल निर्माणमा ३ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ ।
यो सडक सन्दकपुरसम्म पुग्ने मुख्य मार्ग हो । सडकको बाँकी खण्ड पनि कालोपत्रे सम्पन्न भए छिन्तापु, गोरुवाले र सन्दकपुरजस्ता प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्न थप सहज हुने अपेक्षा गरिएको छ ।















