१९ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पठाइने फोहरको मात्रा घटाउने उद्देश्यसहित १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण अभियान सुरु गरेको छ।
महानगरको वातावरण विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडा फोहर व्यवस्थापन केन्द्रको आयु लम्ब्याउने तथा फोहर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने लक्ष्यका साथ यो अभियान अघि बढाइएको हो।
हाल वडा नं. १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर छुट्याएर व्यवस्थापन गर्ने प्रणाली लागू गरिएको छ। यसबाट बञ्चरेडाँडामा दैनिक पठाइने फोहर उल्लेख्य रूपमा घटेको महानगरले जनाएको छ।
राईका अनुसार यसअघि महानगरबाट दैनिक करिब २० ट्रक फोहर बञ्चरेडाँडा पठाइने गरेकामा अहिले त्यो संख्या घटेर १५ ट्रक मा सीमित भएको छ। सात क्षेत्रबाट वर्गीकृत फोहर व्यवस्थापन सुरु भएपछि दैनिक करिब ३.१९ मेट्रिक टन फोहर अन्तिम विसर्जनमा जानबाट रोकिएको उनले जानकारी दिइन्।
‘सहरभित्रै फोहरको स्रोतमा वर्गीकरण गर्दा ढुवानी व्यवस्थापन सहज हुनुका साथै अन्तिम व्यवस्थापनमा पुग्ने फोहरको मात्रा पनि घटेको छ,’ राईले भनिन्।
महानगरले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहरलाई पुनःप्रयोग र बिक्रीयोग्य बनाउने योजनासमेत अघि बढाएको छ। यसका लागि सात क्षेत्रमा वैज्ञानिक ढङ्गले फोहर व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ।
फोहरमैला सङ्कलन तथा ढुवानीसम्बन्धी कार्यविधि–२०८१ कार्यान्वयनमा ल्याउँदै महानगरले फोहरको वर्गीकरण, पुनःप्रयोग, पुनर्चक्रण तथा अन्तिम विसर्जनलाई व्यवस्थित बनाउने नीति अपनाएको छ। साथै सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रसँग सेवा खरिद वा आय–ठेक्कामार्फत फोहर सङ्कलन तथा ढुवानीलाई थप प्रभावकारी बनाउने व्यवस्था पनि कार्यान्वयनमा रहेको महानगरले जनाएको छ।















