२५ असार, चितवन । भरतपुर अस्पतालले शारदानगर स्वास्थ्य चौकीलाई आफ्नो पहिलो स्याटलाइट अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विश्वबन्धु बगालेले महानगरअन्तर्गत सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई भरतपुर अस्पतालको मातहतमा ल्याएर सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएको र स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय अस्पतालको स्याटलाइट अस्पतालको अवधारणा अघि बढाइएको उनले बताए ।
‘पश्चिम चितवनका नागरिकलाई सामान्य उपचारका लागि पनि सदरमुकाम भरतपुर आउनुपर्ने अवस्थालाई क्रमश: कम गर्ने उद्देश्यले महानगरपालिकासँग समन्वय गरेर स्याटलाइट अस्पताल सञ्चालन गर्न लागेका हौँ,’ डा. बगालेले भने, ‘यसको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्नेछ ।’
स्याटलाइट अस्पतालबाट सुरुमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिनेछ । त्यसका लागि पाँच जना चिकित्सक, प्रयोगशाला, एक्सरे सेवा र दुई जना फार्मेसी जनशक्ति परिचालन गर्ने योजना रहेको अस्पतालले जनाएको छ । आवश्यकताअनुसार क्रमश: थप सेवा विस्तार गरिनेछ ।
अस्पतालका अनुसार स्याटलाइट अस्पतालबाट स्वास्थ्य बीमासहितका सेवा पनि उपलब्ध गराइनेछ र यसलाई भरतपुर अस्पतालसँग एकीकृत गरिनेछ । सुरुमा जनरल फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसूति र बालरोगसम्बन्धी ओपीडी सञ्चालन गर्ने तयारी छ ।
भरतपुर महानगरपालिकासँग औपचारिक सम्झौता भएपछि सेवा सुरु गरिने र दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिन सक्ने अपेक्षा गरिएको डा. बगालेले बताए ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा अवस्थित शारदानगर स्वास्थ्य चौकी स्याटलाइट अस्पताल बनेमा महानगरका वडा नं. १४ देखि २८ सम्मका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
शारदानगर स्वास्थ्य चौकीको नाममा हाल पाँच बिघा जमिन रहेको र उक्त जमिनलाई भविष्यमा स्वास्थ्य पूर्वाधार विकासमा उपयोग गर्न सकिने डा. बगालेले बताए ।
भरतपुर महानगरपालिका–१९ का वडाध्यक्ष प्रकाश तामाङले विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा स्थानीयस्तरमै उपलब्ध हुने भएकाले यसले नागरिकलाई ठूलो राहत पुग्ने बताए । सामान्य उपचारका लागि पनि खर्च गरेर भरतपुर बजार धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका कायममुकायम नगरप्रमुख चित्रसेन अधिकारीले साउनको दोस्रो सातादेखि भरतपुर अस्पताललाई आवश्यक संरचना हस्तान्तरण गरी सेवा सञ्चालनमा ल्याइने जानकारी दिए ।
महानगरको आफ्नै नगर अस्पताल सञ्चालनमा चुनौती भइरहेका बेला भरतपुर अस्पतालले पश्चिम चितवनमा सेवा विस्तार गर्न अग्रसरता देखाउनु सकारात्मक भएको अधिकारीले बताए ।















