काठमाडौँ । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको इजलासमा पेस हुने भएको छ। जिल्ला अदालत कास्कीका श्रेष्तेदार राजन खनालका अनुसार म्याद थपको निर्णय गर्न न्यायाधीश दाहाललाई तोकिएको छ। लामिछानेको मात्र नभई अन्य म्याद थपका फाइलहरू पनि न्यायाधीश दाहालको इजलासमा पेस हुने उनले बताए ।

शुक्रवार पक्राउ गरेर पोखरा पुर्याइएका लामिछानेलाई पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार लामिछानेलाई सुरुमा दुई अभियोगमा म्याद थपको तयारी गरिएको छ। सहकारी ठगी र सङ्गठित अपराधमा म्याद थप गरिन्छ भने सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्नेबारे छलफल भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।

पाँच न्यायाधीश उपस्थित

शुक्रवार एक जना पनि न्यायाधीश हाजिर नभएका कारण नेपालगन्जबाट बोलाउनुपरेको जिल्ला अदालत कास्कीमा आइतबार भने पाँच न्यायाधीशको पाँच वटै इजलास गठन भएको छ। जिल्ला अदालतमा १८ दिनपछि न्यायाधीशहरू इजलासमा उपस्थित भएर सुनवाइ सुरु भएको हो ।

असोज १७ गते घटस्थापनाको दिनदेखि बिदामा गएका न्यायाधीशहरू शुक्रवार उपस्थित हुनुपर्ने भएपछि बिदामा बस्दै आइतबार मात्र इजलासमा फर्किएका हुन्। ७ न्यायाधीशको दरबन्दी रहेको अदालतमा शुक्रवार दिउँसो २ बजेसम्म एक जना पनि उपस्थित नहुँदा पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ अनुमति लिने विषय अन्योलमा परेको थियो । अदालतका सबै न्यायाधीश बिदामा रहेको भनी हल्ला भएपछि नेपालगन्जमा रहेका न्यायाधीश कृष्णजंग शाह हवाईजहाज चढेर पोखरा पुगेका थिए । उनी पुगेपछि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ अनुमति जारी गरेको थियो ।

आइतबार न्यायाधीशहरू दाहाल, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह र नीतिज राई उपस्थित छन् । उनीहरूको एकल इजलास पनि तोकिएको छ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, हिमलाल बेल्बासे र चन्द्रकान्त पौडेल अझै बिदामा छन्। कास्कीबाट सरुवा भइसकेका न्यायाधीश महेन्द्रबहादुर थापा पनि आज अदालत पुगेको तर उनले मुद्दा हेर्ने छैनन्। रमाना नलिइसकेका कारण उनी कास्कीमै हाजिर भएका हुन् । बेल्बासे दसैँअघि नै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग बिदा मागेर तीन महिनाका लागि अमेरिका गएकाले अनुपस्थित भएका हुन् ।

शुक्रवार न्यायाधीश नभएको घटना बारे सर्वोच्चले छानबिन गर्ने

शुक्रवार अबेरसम्म कास्की अदालत न्यायाधीशविहीन भएको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गम्भीर रूपमा लिएर न्याय परिषदलाई छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्। उनले न्याय परिषद् सचिव यमबहादुर बुढालाई घटनाबारे बुझेर प्रतिवेदन दिन निर्देशन गरेका हुन् । उनले एकै पटक सबै न्यायाधीश किन अदालत खुलेको समयमा बिदा बसेको भनी प्रतिवेदन तयार गरी आगामी परिषद्को बैठकमा पेस गर्न भनिएको छ।

सचिव बुढाले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द, जिल्ला अदालतका न्यायाधीश तथा तथा कर्मचारीहरूसँग सोधपुछ थालेका छन् ।

प्रधानन्यायाधीशको सचिवालयका अनुसार एक नम्बर न्यायाधीश दाहालले अड्डा खुलेको दिन सेवा प्रवाहका विषयमा कुनै वैकल्पिक व्यवस्था नै नगरी ढुक्कले बिदा बसेका कारण यो परिस्थिति बनेको हो वा अरू कारण छन् भनी न्याय परिषद्ले छानबिनपछि प्रतिवेदन दिने छ ।

सचिव बुढाले प्रतिवेदन दिएपछि थप कदमबारे छलफल हुने प्रधान न्यायाधीशको सचिवालयले जनाएको छ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0