काठमाडौँ । शनिबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले २ उपसभापतिलाई फरक–फरक जिम्मेवारी दिएको छ ।

बैठकको निर्णय नम्बर ३ मा आन्दोलन सञ्चालनको संयोजक डीपी अर्याल र राजनीतिक नागरिक संवादको जिम्मेवारी अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पाएका छन् । बैठकले सातै प्रदेशमा आन्दोलन सञ्चालनका लागि प्रदेश समिति गठन गर्ने तथा आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ ।

‘आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने‚’ निर्णयमा लेखिएको छ‚ ‘राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने ।’

केन्द्रीय समिति बैठकले निर्णय गरेर गठन गरेको राजनीतिक नागरिक संवाद के हो र यसले के काम गर्छ भनेर हामीले संयोजक स्वर्णिम वाग्लेलाई प्रश्न गर्‍यौँ । डा वाग्लेका अनुसार राज्यमा भएका सबै सरोकारवाला निकायसँग संवाद बढाउन‚ पार्टीगत सम्बन्ध स्थापित गर्दै भएका सम्बन्धहरू थप मजबुद बनाउन समिति गठन भएको हो । समितिले यसैलाई आधार मानेर काम गर्ने उनले जानकारी दिए ।

वाग्लेका अनुसार संवाद समूहको प्राथमिकतामा सभापति रवि लामिछानेको विषय पहिलो नम्बरमा रहेको छ ।

‘सभापतिज्यूलाई अनुसन्धान गर्न हिरासतमा राख्नुपर्छ भन्ने बुझाइ हाम्रो छैन । उहाँले यस विषयमा ३ पटक बयान दिइसक्नुभएको छ‚’ उनले भने‚ ‘राष्ट्रिय दलको नेता‚ पूर्व उपप्रधान तथा भविष्यमा प्रधानमन्त्री हुने मान्छेलाई थुनेर अनुसन्धान गर्नुपर्ने अवस्था छैन ।’

सभापति लामिछाने प्रमाण नष्ट नगर्ने तथा विदेश नभाग्ने दाबी गर्दै उपसभापति वाग्लेले हिरासतमा राखेर अनुसन्धान गरिरहेको भन्नु राजनीतिक प्रतिशोध साधेर गलाउन मात्र होइन अपमान गर्न खोजिएको आरोप लगाए ।

‘न्यायालय यो विषय पुगेकै छैन । अहिले पुलिसको अनावश्यक हिरासतमा उहाँ हुनुहुन्छ‚’ उनले भने‚ ‘अदालती प्रक्रिया भाँड्न खोज्यो भनेर भ्रम छरिएको छ यहाँ । अदालतमा केस पुगेकै छैन‚ पुगेपछि हामी चुपचाप फैसला कुर्छौँ हामी अनुसन्धानमा प्रभावित गर्दैनौँ ।’

उनले यसबाहेक पनि संवाद समितिले तमाम समसामयिक विषयमा संवाद गर्ने जानकारी दिए ।

‘हामीले भ्रष्टाचार सुशासनको एजेन्डा सहकारी बचतकर्ताहरूको रकम फिर्ता लगायत संविधानको दश वर्षे समीक्षाको बहस छेडिएको छ । संविधान संशोधन संविधान पुनर्लेखन को विषय छ । यी सबै विषयमा हामी मात्र एक्लै बिचार राखेर भएन‚’ उनले भने‚ ‘अरू विचार मिल्ने राजनीतिक दलहरू बृहत् नागरिक समाज‚पेशेवर समूहहरू सबैसँग औपचारिक संवाद थालनी गर्ने सहकारी पीडितहरूको समूह संवाद थाल्ने र एजेन्डामा एकरूपता ल्याउनका लागि संवाद गर्ने र टिम बनाएर अघि बढ्ने भन्ने छ ।’

पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछाने पक्राउ परेपछि रास्वपा निरन्तर सडक आन्दोलनमा छ । सहकारी बचत अपचलनमा संसदीय छानबिन समितिले प्रतिवेदन बनाएर उनको संलग्न देखाएपछि लामिछाने पक्राउ परेका हुन् । सरकारी वकिल कार्यालय कास्कीमा उनले बयान दिइरहेका छन् ।

यता‚ रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । प्रतिशोध साधेर सत्ताले हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएको रास्वपाको ठहर छ । त्यसैले उसले सडक आन्दोलन गरेको हो ।

‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी रहन्छ‚’ केन्द्रीय समिति बैठकको निर्णयमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0