१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत नछाड्न उनले भने ।

आज राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’

उनले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलमागि समेत अनुसन्धान गर्न भने ।

‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नु भएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि गर्नुस्,’ थापाले भने, ‘यो देशमा के स्थापित गर्नुपर्यो भने कोही पनि मानिस, जुनसुकै राजनीतिक दलको होस्, कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस्, ठूलो होस्, सानो होस्, शक्तिशाली होस्, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे होस् कि अहिले भइरहेको प्रधानमन्त्री होस् कि भोलि प्रधानमन्त्री हुने मान्छे होस् कि जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन ।’

न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्ने उनले बताए ।

‘राष्ट्र बैंक स्वायत्त हुनपर्छ’

अर्को एक प्रसंगमा उनले राष्ट्र बैंक स्वायत्त हुनुपर्ने बताए । ‘स्वायत्तताले राष्ट्र बैंकलाई एउटा ताकत दिनुपर्छ । त्यो ताकत केका निम्ति भने उसले सरकारको सल्लाहकारको भूमिका निर्वाह गर्ने ताकत त्यसबाट प्राप्त गर्नुपर्छ । जब यो स्वायत्त छ भन्ने कुरा स्थापित हुन्छ, तब उसले दिएको सल्लाह पनि बढी ग्राह्य हुन्छ,’ उनले भने ।

राष्ट्र बैंकलाई स्वायत्त बनाउनका लागि आफूहरुको तर्फबाट गर्ने कामका लागि खुला रहेको पनि उनले बताए । साथै राष्ट्र बैंकलाई पनि समीक्षा गर्न उनले सुझाव दिए ।

‘राष्ट्र बैंकको स्वायत्ततालाई कायम गर्ने कुराहरुको सन्दर्भमा, यसमा अरु थप काम गरौं,’ थापाले भने, ‘हाम्रो तर्फबाट के काम गर्नुपर्ने छ, त्यसका लागि हामी खुला छौं, हुनैपर्छ । र, राष्ट्र बैंकले पनि यी कुराहरुको सन्दर्भमा केही गम्भिर समीक्षाहरु गर्नुपर्छ भन्ने म ठान्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0