२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् ।

सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको बताए ।

‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ प्रचण्डले भने ।

साथै, उनले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे ।

‘विचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरूबाहेक केही पनि देखिएन,’ प्रचण्डले भने ।

साथै, उनले माओवादीप्रति जनताको भरोसा बढ्दै गएको भन्दै फेरि जनताको तागत देखाउनुपर्ने उल्लेख गरे ।

‘अब फेरि जनताको तागत देखाउनुपर्ने भयो भनेर जनताको बीचमा गएर तागत केन्द्रिकृत गर्छु भनेको थिएँ । त्यही अनुसार हामी सबै प्रदेशमा गयौं,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0