काठमाडौँ । १३२औँ माओ दिवसका अवसरमा राजधानीका पुस ११ गते वृहत् कार्यक्रमको आयोजना गर्न लागिएको छ । दिवसका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ ।
‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक उक्त वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा जुट्दैछन् ।
विप्लव नेतृत्वको नेकपाले यसअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेपनि माओवादीकै तर्फबाट ढिलाइ हुँदा एकताले सार्थकता पाउन सकेको छैन । यस्तै उपमहासचिव शर्माले पनि कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् ।
एकताको पक्षमा रहेका दुई नेता एउटै मञ्चमा उपस्थित भएर एकताका लागि आह्वानसहित कम्युनिस्ट आन्दोलन र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा वैचारिक अन्तरक्रिया गर्ने आयोजकको भनाइ छ ।
‘वाम ध्रुवीकरणको विषयमा व्यापक बहस भइरहेको बेला दुई पार्टीका दुई प्रतिभाशाली नेताबिचको जमघटले वाम आन्दोलनलाई नयाँ मोड दिन सहयोगी सिद्ध हुने हाम्रो विश्वास छ’, आयोजकले रातोपाटीलाई बतायो ।
सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।