१० असार, विराटनगर — सामुदायिक कुकुरको संरक्षणमा सक्रिय रहेका शाहिल र एलिना प्रसाईंले बजेट माग्दा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालासँग तीव्र भनाभन भएको छ। एलिना र शाहिलले दक्षिण विराटनगरको रानी क्षेत्रमा खोलिएको कुकुर आश्रयस्थलको व्यवस्थापनमा सहयोग माग्न सोमबार मेयरको कार्यालय पुगेका थिए।
एलिना प्रसाईंले बताइन् कि उनीहरू सन् २०१९ देखि निजी खर्च र केही व्यक्तिको सहयोगमा “एलिना एनिमल्स प्रिजर्भेसन नेपाल” नामक संस्थामार्फत आश्रयस्थल सञ्चालन गर्दै आएका छन्। तर बर्खाको समयमा डुबानमा पर्ने क्षेत्र भएकाले थप व्यवस्थापन चुनौती थपिएको भन्दै स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरेका थिए।
तर मेयर कोइरालाले कुनै संस्था वा समूहसँग सहकार्य नगर्ने अडान राख्दै स्पष्ट अस्वीकृति जनाएका थिए। एलिनाको आरोप अनुसार, मेयरले न केवल रुखो व्यवहार गरे, बरु दाजु शाहिललाई तर्साउने र कुटपिट गर्न खोज्ने प्रयाससमेत गरे। एलिनाले एक फेसबुक लाइभमार्फत भनिन्, “म जागिर माग्न गएकी होइन, कुकुरलाई बचाउन सहयोग माग्न पुगेकी थिएँ। तर उहाँले अपमानजनक शब्द प्रयोग गर्नु भयो।”
उनको भनाइअनुसार, शाहिलले ‘हिँडौं’ भनेपछि मेयर कोइराला क्रोधित हुँदै पछाडि लागेका थिए र अपशब्द बोलेका थिए। एलिनाले मेयरले आफ्ना दाजु साहिलप्रति “सन्किन्छस् साला गधा प्रसाईं” जस्ता शब्द प्रयोग गरेको आरोप लगाइन्।
दुवै पक्षको भनाइ फरक रहेको छ। मेयर कोइरालाले आफूले कुनै दुर्व्यवहार नगरेको दाबी गर्दै उल्टै आफ्ना विरुद्ध अपशब्द प्रयोग भएको बताएका छन्। उनले भने, “यदि कसैले तिमीलाई आमासँग जोडेर अपशब्द प्रयोग गर्छ भने तिमी के गर्छौ? ममाथि पनि यस्तै भएको हो।”
यो घटनाले स्थानीय सरकार र जनसरोकारका विषयबीचको समन्वय अभावलाई पुनः उजागर गरेको छ। कुकुरजस्ता बेसहारा जनावरको संरक्षणका लागि गरिएका प्रयासमा सरकारको भूमिका कस्तो हुने भन्ने बहस फेरि एक पटक सुरु भएको छ।
















