विज्ञापन

शिक्षक नियुक्तिमा खुला प्रतिस्पर्धाको माग गर्दै क्रान्तिकारीको ज्ञापनपत्र

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, २३ असार – माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विद्यालय शिक्षकको नियुक्ति पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग गरेको छ। हाल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षा विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था गरिएकोमा संगठनले असन्तुष्टि जनाउँदै सबै नियुक्ति खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने अडान राखेको हो।

शिक्षामन्त्री रघुजी पन्तलाई बुझाइएको १३ बुँदे ज्ञापनपत्रमा उनीहरूले शिक्षालयहरूलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन चेतावनी दिएका छन्। ‘हाम्रो शिक्षालय राजनीतिक अखडा बन्नु हुँदैन,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्छ। आन्तरिक प्रतिस्पर्धाको प्रावधान पूर्ण रूपमा हटाउनु आवश्यक छ।’

क्रान्तिकारीले देश संघीयतामा गइसकेको अवस्थामा समेत जिल्ला शिक्षा कार्यालयहरूलाई पुनः सक्रिय बनाउने प्रयासलाई आलोचना गर्दै ती कार्यालयहरू खारेज गर्न माग गरेका छन्। उनीहरूको अनुसार यस्ता संरचनाले संघीयताको मर्मविपरीत काम गरिरहेका छन्।

सशस्त्र द्वन्द्वका सहिद र बेपत्ता पारिएका व्यक्तिहरूका सन्तानका लागि स्थापना गरिएका विद्यालयहरूको व्यवस्थापन सम्बन्धमा छुट्टै कानुनी व्यवस्था गर्न पनि माग गरिएको छ। यस्ता विद्यालयहरूलाई स्थायित्व दिन कानुनमै स्पष्ट व्यवस्था हुनुपर्ने क्रान्तिकारीको भनाइ छ।

शिक्षामा निजीकरणको प्रभाव घटाउनुपर्ने भन्दै संगठनले निजी विद्यालय सञ्चालकलाई पाठ्यक्रम परिषद्मा लैजाने प्रस्तावको विरोध गरेको छ। सो कदमले पाठ्यक्रम निर्माणमा पनि निजी क्षेत्रको प्रभाव बढाउने भन्दै संविधानको भावना विपरीत रहेको उनीहरूको दाबी छ।

राज्यकोषबाट सेवा सुविधा लिने कर्मचारी, जनप्रतिनिधि तथा पदाधिकारीहरूको सन्तानलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउन कानुनी व्यवस्था गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा शिक्षा निःशुल्क र सर्वसुलभ हुनुपर्ने संवैधानिक प्रावधानको पूर्ण कार्यान्वयन गर्न पनि जोड दिइएको छ। संगठनले हालको विधेयकलाई व्यापक रूपमा परिमार्जन नगरी पास गर्नु राष्ट्रको दीर्घकालीन शिक्षानीति र समानताको भावनाविपरीत हुने चेतावनी दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन