काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीट्जरल्यान्डका संघीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–स्वीस द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्दै विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
विदेशमन्त्री क्यासिसले नेपालको संघीयता सुदृढीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनमा आफ्नो देशको सहयोग निरन्तर रहने बताए। उनले नेपालमा विकास साझेदारको रूपमा स्वीस सरकारको भूमिकाबारे सकारात्मक प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले नेपालमा लामो समयसम्म हिंसा र अस्थिरता रहे पनि हाल कांग्रेस र एमालेको सहकार्यबाट स्थायित्वतर्फ प्रगति भइरहेको बताए। उनले विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको संस्थागत निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
भेटमा नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति रहेको थियो।
















