दिनेश पाण्डे
भाद्र १२, सिद्धबाबा, पाल्पा —
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा दिउसो र रातिमा पनि विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा द्रुतगतिमा खन्न थालिएको छ । कुनै समस्या नआए अब छिट्टै सुरुङको खन्ने कार्य सम्पन्न गर्ने तयारी रहेको सिद्दबाबा सुरुङ मार्ग आयोजनाकि इन्जिनियर एवं प्रवक्ता सविता ज्ञवालीले जानकारी दिएकी छिन ।

https://www.facebook.com/share/v/dRG2SGVDuFviRu2B/
‘मेसिनबाट मात्र काम गर्दा निर्माणमा ढिलाइ भएको थियो, चट्टान ठूला भएकाले त्यसलाई काट्न दुई/तीन दिन नै लाग्थ्यो, ‘जसले गर्दा कार्य प्रगति कम थियो ।’ निर्माणको काम थालेको दुई वर्ष बित्दा प्रगति १२ प्रतिशत कट्न सकेको थिएन ।

करिव दुइ महिनाअघिबाट विस्फोटक पदार्थ प्रयोग गरेर काम थालेपछि दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ मार्ग खनिराखिएको थियो ।
अहिले सुरुङको भौतिक प्रगति २०.६० प्रतिशत छ भने वित्तीय प्रगति २३.०८ प्रतिशत रहेको छ । अब रातमा पनि विस्फोट गराएर काम गर्न सुरु भएपछि प्रगति पनि झनै बढ्ने छ , त्यसको सुरुवात आजै देखि हुदै छ ।
रातमा पनि विस्फोट गराएर काम गर्न सुरु भएलगत्तै दैनिक करिव १२ मिटरका दरले सुरुङ खनिने छ ।

सुरुका दिनमा निर्माण व्यवसायीबाट काममा ढिलाइ भए पनि अहिले कामको गति बढेको उनको दाबी छ ।

यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । नेपाल सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लावासीलाई सुविधा पुग्नेछ ।

यो मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डमा चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने गरि यो सुरुङ मार्ग निर्माण गरिएको हो ।
सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर रहेको छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । विस्फोटक पदार्थ प्रयोग गर्नुअघि मुख्य सुरुङ १ सय २७ मिटर खनिएको थियो । अहिले विस्फोट गराएर ३ सय ४९ मिटरसहित कुल ४ सय ७६ मिटर मुख्य सुरुङ खनिएको छ । त्यस्तै क्रस प्यासेज ३ सय १४ मिटर खनिएको छ ।

‘मुख्य सुरुङ र क्रस प्यासेजसहित ७ सय ९० मिटर खनिसकिएको प्रवक्ता ज्ञवालिले भनिन ।

उत्तर–दक्षिण दुवैतर्फ र तीन वटा क्रस प्यासेजमा एकसाथ निर्माणको काम भइरहेको छ। सुरुङमार्ग बाहिरपट्टिको खण्डमा ‘रक सेट’ बनाउन सडक नै बन्द गर्नुपर्छ । तर यो सडकमा सवारी चाप धेरै छ । यो सडक खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारीसाधनहरु ओहोरदोहोर गर्ने गर्छन् ।

‘सुरुङ खन्ने काम सकेर अस्थायी रूपमा सवारीसाधनलाई सुरुङबाट पठाएर पहिरो खस्ने जोखिम क्षेत्रमा रक सेट बनाउने योजना रहेको छ । त्यसैले सुरुङ निर्माणको काम छिटो सक्नु छ ।’ उक्त रक सेटको दूरी ७ सय ८० मिटर छ । ‘सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइनेछ । त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको छ ।’

अब छिट्टै सुरुङबाट औपचारिक रूपमा सवारीसाधन चलाउन मिल्ने गरी काम भैरहेको छ। पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । बाँकी रहेको समय भित्र सक्ने गरी काम भइरहेको उनले बताइन ।

यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0