२२ असार, काठमाडौं । युट्युबले योग्य क्रिएटरहरूका लागि ‘क्यारोजेल पोस्ट’ (एउटै पोस्टमा धेरै तस्बिर स्वाइप गरेर हेर्न मिल्ने फिचर) मा संगीत वा ब्याकग्राउन्ड अडियो थप्न मिल्ने सुविधा उपलब्ध गराएको पुष्टि गरेको छ।
यसका साथै कम्पनीले हालै सार्वजनिक गरेको युट्युब स्टुडियोको नयाँ ओभरभ्यु ड्यासबोर्ड रोलआउटका बारेमा पनि थप स्पष्ट पारेको छ।
मेटा कम्पनीको इन्स्टाग्राम र टिकटकमा पहिलेदेखि नै तस्बिरको सङ्ग्रहमा संगीत राख्न मिल्ने फिचर निकै लोकप्रिय छ। सोही शैलीलाई पछ्याउँदै युट्युबले पनि गत मे महिनामा घोषणा गरेको यस फिचरलाई अहिले योग्य क्रिएटरहरूका लागि उपलब्ध गराएको हो।
अब क्रिएटरहरूले आफ्ना क्यारोजेल पोस्टहरूमा अधिकतम १५ सेकेन्डसम्मको ब्याकग्राउन्ड अडियो थप्न सक्नेछन्। यी पोस्टहरू युट्युबको ‘शर्ट्स फिड’ मा पनि देखिनेछन्। यसका लागि प्रयोगकर्ताले युट्युबको लाइसेन्स प्राप्त र लोकप्रिय गीतहरूको लाइब्रेरी, युट्युब अडियो लाइब्रेरीमा रहेका हजारौँ रोयल्टी-फ्री ट्र्याकहरू वा योग्य बजारहरूमा उपलब्ध गराइँदै गरेको ‘ड्रिम ट्र्याक’ एआई टुल प्रयोग गरेर आफ्नै कस्टम साउन्डट्र्याक छान्न सक्नेछन्।
यो फिचर पाएका युट्युब क्रिएटरहरूले एउटा पोस्टमा अधिकतम १० वटासम्म फोटोहरू राख्न पाउनेछन्। साथै, स्थिर तस्बिरहरूलाई अझ बढी कथा वा प्रसङ्ग दिनका लागि फोटोमाथि ‘टेक्स्ट ओभरले’ सुविधा पनि दिइएको छ।
यसका साथै युट्युबले आफ्नो नयाँ युट्युब स्टुडियो ट्रान्सपिरेन्सी अपडेटका बारेमा थप जानकारी साझा गरेको छ। युट्युबका एडिटोरियल हेड रेने रिचीले यस परिमार्जित डिस्प्लेबारे थप प्रष्ट पारेका छन्।
रिचीका अनुसार, यसअघि कपीराइट स्ट्राइक र मोनेटाइजेसन योग्यता जस्ता अत्यन्तै महत्त्वपूर्ण जानकारीहरू स्टुडियोका छुट्टाछुट्टै सेक्सनमा छरिएर रहेका हुन्थे । जसका कारण क्रिएटरहरूले च्यानलको अवस्था बुझ्न धेरै ठाउँमा खोजतलास गर्नुपर्थ्यो।
अब ती सबै विवरणहरूलाई एउटै ‘डाइनामिक भ्यू’ मा समेटिएको छ। यसबाट क्रिएटरहरूले आफ्नो च्यानलको वर्तमान स्थिति तुरुन्तै हेर्न, आफ्नो योग्यता बुझ्न र कुनै समस्या भएमा तुरुन्तै कदम चाल्न सक्नेछन्।
यी अलर्टहरूले क्रिएटरहरूलाई च्यानलको कमाइ वा मोनेटाइजेसनमा असर पार्न सक्ने सम्भावित समस्याहरू सधैँ थाहा पाउन मद्दत गर्नेछन्। रिचीका अनुसार यदि कुनै भिडियोमा केही समस्या वा अवरोध आएमा युट्युबले क्रिएटरलाई त्यसलाई कसरी समाधान गर्ने भनेर पनि सिकाउनेछ।
उदाहरणका लागि यदि कुनै भिडियोमा ‘सीमित विज्ञापन कमाइ’ (लिमिटेड एड अर्निङ) को सूचना आएमा क्रिएटरले त्यहीँबाट सिधै अपिल गर्ने विकल्प पाउनेछन्।
क्रिएटरहरूलाई कमाइको स्पष्ट विवरण दिनका लागि यसमा ‘इस्टिमेटेड रेभेन्यु’ को कोलम पनि थपिएको छ। युट्युबले गत महिना यो स्टुडियो डिस्प्ले रिडिजाइनको घोषणा गरेको थियो र रेने रिचीले यो हप्तादेखि सबै मोबाइल प्रयोगकर्ता वा क्रिएटरहरूका लागि यो नयाँ ड्यासबोर्ड रोलआउट भइरहेको पुष्टि गरेका छन्।















