जनकपुर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न अभियान सुरु भइसकेको बताएका छन् ।
जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले जानकी मातासँग सम्बन्धित सबै संरचनाको पुनर्निर्माण र व्यवस्थापन गरिने बताए। यसका लागि बजेटमा कुनै कन्जुसी नगरिएको उल्लेख गर्दै उनले जनकपुरधामको विकासका लागि पर्याप्त बजेट विनियोजन गरिएको दाबी गरे ।
उनले चालु आर्थिक वर्षको बजेटमा जनकपुरधामको सहरलाई सुन्दर र व्यवस्थित बनाउने योजनालाई प्राथमिकता दिइएको बताए । आगामी चैत–वैशाखसम्म जनकपुरधाममा उल्लेखनीय परिवर्तन देखिने उनको भनाइ छ । मन्त्री लम्सालले जनकपुरधामको विकासका लागि आवश्यक पूर्वाधारमा क्रमशः लगानी बढाउँदै लगिने पनि बताए।
विवाहपञ्चमी महोत्सवलाई प्रवद्र्धन गर्न र उत्सवको रौनक बढाउन बजेट छुट्याउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । पर्यटन बोर्डमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई आवश्यक योजना र लागत विवरणसहित प्रश्ताव तयार पार्न आग्रह गरे।
उनले प्राविधिकहरूसँग छलफल गरेर बजेट तथा कार्यक्रमको योजना बनाउन र विवाहपञ्चमीलाई भव्य रूपमा सम्पन्न गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

















