काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो नाममा राजनीति गरेको बताएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा प्रचण्डले संविधान दिवसका दिन मिश्रले आफूबारे दिएको अभिव्यक्ति राजनीति भएको बताएका हुन् ।

संविधान दिवसको दिन मिश्रले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै देश अहिले पनि प्रचण्ड पथमा हिँडेको बताएका थिए । कांग्रेस र एमालेले प्रचण्डलाई महान नेता मान्न व्यङ्ग्य गरेका थिए । सोही कार्यक्रममा प्रचण्ड बोल्नअघि मञ्चमा पुगेका मिश्रले देश अहिले पनि प्रचण्डकै वरिपरि घुमेको स्पष्ट पारेका थिए ।

मिश्रको जवाफ फर्काउँदै उनले आफ्नो विरोध गरेको हो कि समर्थन गरेको हो भन्ने छुट्याउन अप्ठ्यारो परेको बताएका थिए । साथै मिश्रको अभिव्यक्ति कांग्रेस र एमालेबिच विभाजन ल्याउन हो कि भनेर उनले आशङ्का गरे । तर जेसुकै भए पनि मिश्रले राजनीतिक गरेकोमा आफू स्पष्ट रहेको र उनको विचारसँग सहमत नभएको बताएका थिए ।

‘रविन्द्रजीले मेरो समर्थन गरेको हो कि विरोध गरेको छुट्याउनै गाह्रो भयो । उहाँले कांग्रेस र एमालेबिच लडाईँ पार्न खोजेको हो कि ? विचार त प्रस्ट नै राखिसक्नुभएको छ । उहाँले प्रचण्डलाई महत्त्व दिएको पक्कै होइन । उहाँले राजनीति गर्नुभएको हो’, मिश्रतर्फ हेर्दै उनले भने, ‘राजनीति गर्ने स्वतन्त्रता तपाईँलाई छ । यो संविधान यति लचिलो छ कि सबैलाई स्वतन्त्र ढङ्गले अभिव्यक्ति गर्ने अधिकार छ । जनमतलाई प्रभावित पारेर आफ्नो आवश्यकता परिपूर्ति गर्नेसम्मको अधिकार संविधानले दिएको छ ।’

संविधान संशोधन अहिले एजेन्डाको रुपमा छलफल भएकाले समाजमा विभिन्न खालको कन्फ्युजन बढेको प्रचण्डले बताए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0