काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताए । उनले सहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरु भएका कामहरूलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उल्लेख गरे ।

उनले मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि सहरहरू व्यवस्थित गर्ने काममा आफूहरू लागि परेको बताए । उनले जलवायु परिवर्तनको असर विकराल बन्दै गएकाले सहर र गाउँलाई सुरक्षित गर्ने काममा सरकार गम्भीर भएर लागेको पनि बताए । उनले सरकारले गरेका राम्रा कामहरू सञ्चारमाध्यमहरूले प्रसारण गर्न कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे ।

उपप्रधानमन्त्री सिंहले भने– ‘अहिले केही भएको छैन, के गरे यिनीहरूले भन्छ तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ नि त । यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु । तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले सहरहरू व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ । यो सहरहरूलाई सेफ गर्नको लागि गर्नुपर्ने कामहरू त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौँ ।’

उनले थप भने, ‘सहरी विकास मन्त्रालयबाट सय दिनमा नयाँ घोषणा गरेर सम्पन्न गरेको के हो ? भन्नुभयो भने त्यो गाह्रो हुन्छ । म यहाँ आइसकेपछि पनि मैले यही मन्त्रालयसँग सम्बन्धित प्रेसलाई पनि टाइम टु टाइम मिट गरेर सुझाव मागेका छौँ । जे काम गर्छौँ हामी खुला रूपमा गर्न चाहन्छौँ । राम्रा राम्रा काम गरेको बारेमा पनि मिडियाले भन्नुपर्‍यो । धरहरा केही समयको लागि निःशुल्क खुलाएका छौँ नि । गरेको कुरा त गरेको छ भनेर भन्नुपर्छ नि । मन्त्रालयबाट गर्नुपर्ने पोलिसी मेटर्सहरुमा पनि हामी गम्भीर भएर लागेका छौँ । काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिइरहेका छौँ ।’

उपप्रधानमन्त्री सिंहले धरहरा निःशुल्क रूपमा चढ्न दिने लगायतका सरकारले गरेका राम्रा कामहरूको प्रचारप्रसार कम भएकोप्रति असन्तुष्टि जनाए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0