काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनले गुनासो गरेका छन्।
नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले यस्तो गुनासो गरेका हुन्।
विपद्पछिको खोज तथा उद्धारमा सरकारले अन्य क्षेत्रमा काम गरे पनि सुरुङ र पावरहाउसभित्र अड्किएका नागरिकको उद्धारमा उदासीनता देखाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
बाढीमा परी सम्पर्कविहीन भएका इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले सुरुङ तथा पावरहाउसमा फसेकाहरूको उद्धारमा सरकारले सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे। ६ दिनदेखि भतिज निरजको उद्धारका लागि राज्यका निकायहरूमा हारगुहार गर्दा समेत अपेक्षित सहयोग नपाएको उनले बताए।
जंगल र अन्य क्षेत्रमा रहेका नागरिकको उद्धार गरिए पनि सुरुङ र पावरहाउसमा रहेकाहरूको उद्धारमा प्रभावकारी काम हुन नसकेको रेग्मीले बताए। बेल्चा लिएर मात्र सुरुङ खोल्न नसकिने भन्दै उनले विदेशी सहयोग लिएर भए पनि उद्धार प्रणाली प्रभावकारी बनाउन माग गरे।
रेग्मीले भने, ‘मेरो भतिज सम्पर्कविहीन भएको छ। मैले उसको उद्धारका लागि मन्त्रालय र राज्यका निकायहरूसँग हारगुहार गरिरहेको छु। त्यहाँ थुप्रै जना अड्किनुभएको अवस्था छ। उद्धार नै नभएको होइन, तर प्राथमिकता कतातिर हुनुपर्ने हो त्यता परेन। त्रिशूली ३ ‘ए’ मा मेसिन लैजान सकिएन भन्ने जवाफ बाढी आएको तेस्रो दिनमा मन्त्रीज्यूले दिनुभयो। उद्धारका लागि बेल्चा बोकेका उद्धारकर्मी पठाएर मात्र हुँदैन, हाम्रो व्यवस्थापकीय क्षमता कस्तो रहेछ भन्ने यसैबाट स्पष्ट हुन्छ।’
यसैगरी नारायणी जोशीले आफ्ना श्रीमानसहित नेपाल विद्युत् प्राधिकरणका ४० जना कर्मचारी त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा उद्धारको पर्खाइमा रहेको जानकारी दिइन्। त्रिशूली थ्री ‘ए’ को पावरहाउस अन्य पावरहाउसको तुलनामा सुरक्षित रहेको खबर पाएकाले आफन्तहरू जीवितै रहेको आशामा परिवारजन उद्धारको प्रतीक्षा गरिरहेको उनले बताइन्। सयौँ नागरिक फसेको यति जटिल स्थितिलाई सरकारले हलुका रूपमा लिएको भन्दै उनले आक्रोश व्यक्त गरिन्।
जोशीले भनिन्, ‘बाढीमा मेरा श्रीमानसहित ४० जना प्राधिकरणका कर्मचारी त्रिशूली थ्री ‘ए’ हाइड्रोपावरमा अड्किएर बस्नुभएको छ। त्यो पावरहाउस अन्यभन्दा सुरक्षित छ भन्ने सुनेकाले हाम्रा आफन्त जीवितै छन् भन्ने आशामा राज्य संयन्त्रसँग हारगुहार गरिरहेका छौँ। बाढी आएको दोस्रो दिनमै हुनुपर्ने उद्धार ६ दिन बितिसक्दा पनि हुन सकेको छैन, सरकारको प्राथमिकता के हुनुपर्थ्यो?’
सम्पर्कविहीन भएका नागरिकका आफन्तहरूले उद्धारमा सरकारी सक्रियता पर्याप्त नभएकै कारण बाढी आएको ६ दिन बितिसक्दा पनि आफ्ना मानिसहरूसँग सम्पर्क हुन नसकेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।
















