बझाङ । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसियाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे ।
अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । “दुई सातामा अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो”, खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भने, “अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।” यस्तो बेमौसमी स्याउ आफूले कहिल्यै नदेखेको उनले बताए ।
जोशीले भने, “गत चैतमा टुसाउन सुरु भएको स्याउ फुलेर, फलेर असारमा सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहन्छ । अहिले तीन महिनापछि भने स्याउ सिधै लटरम्म फलेको देखियो ।”
पाँच वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमा कुहिएको उनले बताए । उनले भने, “यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोट मर्ने अवस्थामा छन् । फल फुटेर खेर गयो । त्यो बेला कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।” अहिले बेमौसममा स्याउ लटरम्म फलेका जोशीले बताए ।
लामो समय भारत बसेर दसैँ बिदामा घर आएका खप्तडछान्ना–५ का देवप्रसाद शर्माले भने, “कात्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो ।” लामो समय स्याउ बगैँचामा काम गरेको अनुभव सुनाउँदै ६६ वर्षीय शर्माले अहिले आश्चर्यमा परेको उल्लेख गरे । अहिले हुर्किरहेको स्याउ मौसममा आएको परिवर्तनका कारण हुनसक्ने उनले धारणा राखे ।
“एकपटक भारतको उत्तर प्रदेशमा पनि मौसम फेरबदल भएको भन्दै मौसम अनुकूलका स्याउका बोट रोपिएको थियो । यहाँ पनि त्यस्तै बोट रोप्नुपर्ने अवस्था आएको हो कि ?”, शर्माले प्रश्न गरे । अहिले मौसम उपयुक्त नभएकाले फलेका स्याउ बोटमै सुक्नसक्ने उनले आशङ्का व्यक्त गरे ।
“हाम्रो ठाउँको उचाइ दुई हजार मिटरको हाराहारीमा छ”, शर्माले भने, “यहाँ पाकेको स्याउ भदौको अन्तिमतिर निकालिन्थ्यो । असोजसम्म पात झरेर बोट नाङगै हुन्थे । अहिले पात झर्ने छाँटकाँट छैन । फल पनि हुर्किरहेका छन् ।” चिसो बढिरहेकाले तुसारोले फल र बोट सुक्नसक्ने उनले चिन्ता व्यक्त गरे ।
सोही ठाउँमा दीपक जोशीले पनि स्याउ एकै वर्षमा दुई पटक फल्नु अनौठो भएको बताए । उनले भने, “यसअघि मौसममा फलेका फल कुहिएर सकियो । तापक्रम बढेर यस्तो समस्या आएको हुनसक्छ । अन्य ठाउँमा जलवायु परिवर्तनको असरबारे समाचार सुनिन्थे । यहाँ आँखै अगाडि देखियो । यो पनि जलवायु परिवर्तनको असरले भएको होला ।”
खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताए । उनले भने, “बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिलेपहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।”
गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताए । “पहिले यो समयमा छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिँदैन । तापक्रम धेरै बढेकाले हिमालमा पनि हिउँ पर्न कम हुँदै गएको छ । यसले कृषि उत्पादनमा समस्या देखिन थालेको छ”, उनले भने ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले मौसम फेरबदल हुँदा बेसिजनमा स्याउका बोटमा फल लागेको बताए । उनले भने, “जलवायु परिवर्तनले कृषिमा असर पारेको भन्ने सबैको चिन्ता छ । त्यसमा पनि स्याउले आराम गर्ने समयमा फल दिनु भनेको निकै सङ्कटको अवस्था हो ।”
प्रमुख विष्टले असोज/कात्तिकको समय फल दिइसकेपछि पात झरेर स्याउ, नास्पाती, ओखर, आरु, मेल, पाँकरजस्ता बिरुवाले आराम गर्ने बेला भएको भन्दै यो समयमा फल दिन थालेपछि अनुसन्धान गर्नुपर्ने बताए ।