२३ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको सहरीकरणको चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्र संघ र यूएन ह्याबिटेटसँग थप सहकार्य गरिने बताएका छन् ।
यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि (आरओएपी) काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि हाना सिंगर ह्याम्डीसँगको छलफलमा उनले नेपालले सामना गरिरहेका सहरीकरण चुनौतीलाई सम्बोधन गर्नका लागि सहकार्यमा जोड दिएका हुन् ।
इजिप्टको कायरोमा जारी वर्ल्ड अर्बान फोरम कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री सिंहले इसिगाकी र ह्याम्डीसँग भेट गरेका हुन् ।
भेटमा इसिगाकीले तथ्य र तथ्यांकमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराए ।
विश्व फोरममा नेपालका तर्फबाट मन्त्री सिंहले ३ वटा सत्रमा सम्बोधन गरेका थिए ।
सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए ।
इजिप्टको कायरोमा नोभेम्बर ४ देखि सुरु भएको फोरम शुक्रबार समापन हुँदैछ । उपप्रधानमन्त्री सिंह शनिबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।