२३ मंसिर, काठमाडौं । पूर्व घोषित समय अनुसार आजबाट हुने भनिएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकोे २३ औं राष्ट्रिय सम्मेलन अनिश्चित बनेको छ ।

२३ र २४ मंसिरमा गर्नेगरी असोजमा भएको राष्ट्रिय सम्मेलन स्थगित गरिएको थियो । उमेर हदमा मतदान गर्ने/नगर्ने विवादले नयाँ नेतृत्व चयन नगरी १९ असोजमा सम्मेलन रोकिएको थियो । बाढीपहिरो र दशैंलाई कारण देखाउँदै अध्यक्षमण्डलले राष्ट्रिय सम्मेलन त्यसबेला राकेको सम्मेलनको नयाँ मिति सार्वजनिक भएको छैन ।

पूर्वतयारी हुन नसकेका कारणले निर्धारित मितिमा सम्मेलन हुन नसकेको अखिल क्रान्तिकारीका नेताहरुले जानकारी दिएका छन् । २७ मंसिरमा पार्टीको बैठक बसेर नयाँ मितिको निर्णय हुने जानकारी पाएको अखिल क्रान्तिकारी इन्चार्ज हिमाल शर्माले जानकारी गराए ।

‘उमेर हद लगाउने कि नलगाउने पार्टीको पदाधिकारी बैठकले निर्णय लिन्छ । पार्टीले बनाएको मोडालिटी अनुसार नयाँ कमिटीको लागि निर्वाचन हुन्छ,’ शर्माले अनलाइनखबरसँग भने ।

पार्टीको प्राथमिकतामा स्थानीय तहको उपनिर्वाचनमा परेकाले अखिलको सम्मेलनतर्फ ध्यान नपुगेको विद्यार्थी नेताहरूले बताएका छन् । १० असोजमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनले नयाँ नेतृत्व चयन नगरी टुंगिएको थियो ।

उमेर हद कायम गर्नुपर्ने र गर्न नहुने दुई ध्रवमा प्रतिनिधिहरू विभाजित बनेका थिए । पार्टीको पहलमा उमेर हद २८, ३० र ३२ मध्ये एक रोज्ने गरी मतदान गराउने निर्णय भएपनि मतदान प्रक्रिया भने सुरु हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0